काभ्रे। कृषिका कुरा हुँदा आम नेपाली र किसान समुदायले सम्झने दिन असार १५ गते हो । असार १५ अर्थात धान दिवस, रोपाइँ दिवस । त्यस्तै हालैबाट पुस १५ गते पनि कृषकहरुको एउटा दिवस थपिएको छ–राष्ट्रिय च्याउ दिवस । हालैको चुनावी सरकारको मन्त्रीपरिषद्को बैठकले च्याउ किसानहरुको सम्मान र उपभोक्ताहरुलाई च्याउको पौष्टिक महत्व बुझाउनका लागि यो दिवस मनाउने निर्णय गरेको हो । यसै अनुरुप पनौती–१०, खोपासीमा मंगलबार यो दिवस भव्यताका साथ मनाइएको छ ।

खोपासी भू–मित्र कृषक समूहको आयोजनामा मनाइएको कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगर प्रमुख रामशरण भण्डारीले खाद्य सुरक्षा र पौष्टिकताका हिसाबले च्याउको नियमित सेवनमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘पनौतीमा संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा कृषकहरु व्यावसायिकता उन्मुख हुँदै गएका छन् । नगरपालिकाले च्याउ किसानहरुलक्षित गरी च्याउ प्रवद्र्धन कार्यक्रम आह्वान गरिसकेको छ । यस्तै, नगरलाई पोषणमैत्री नगर बनाउन अभियान सुरु भएकोले च्याउलगायतका पौष्टिक खानेकुराका लागि कृषि क्षेत्रमा नगरपालिकाले हरसम्भव कार्यक्रमहरु लागू गर्दै जानेछ’ भण्डारीले थप्नु भयो ।

पनौती नगर कृषि समितिका संयोजक एवं पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले नगरका हरेक वडालाई एउटा कृषि उत्पादनका हिसाबले पहिचान गराउने लक्षले आफ्फे समितिले काम गरिरहेको बताउनु भयो । उहाँले कृषक समूहका सदस्यहरुलाई आवश्यक पर्ने कार्यक्रम तथा मेशिनरी औजारहरुका लागि वडा र नगरपालिकामा सम्पर्क राख्न पनि अनुरोध गर्नुभयो । बागवानी विकास केन्द्रका प्रमुख विष्णु बोगटीले खोपासीमा दक्षिण एशियाकै नमूना राष्ट्रिय च्याउ स्रोत केन्द्र स्थापना हुने क्रममा रेसमखेती परिसरमा भवनको एक चरण निर्माण सम्पन्न भएको र अन्य पूर्वाधारहरु विकास भइरहेको हुँदा भविष्यमा खोपासी च्याउ खेतीका लागि आवश्यक स्रोत बीउ, प्राविधिक ज्ञान पाइने उपयुक्त गन्तव्य बन्ने विचार व्यक्त गर्नुभयो ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोककी कृषि प्रसार अधिकृत अमृता पौडेलले च्याउ खेतीबाट स्थानीयस्तरमा आयआर्जनका साथै पौष्टिकता सुधारमा सहयोग हुने गरेको सन्दर्भ उललेख गर्नुहुँदै च्याउ खेतीका महत्वबारेमा जानकारी गराउन दिवसकै अवसरमा कृषि कार्यालयसहितका सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यालयका कृषि इन्जिनियर रामप्रसाद अधिकारीले च्याउखेतीमा आएका पछिल्ला प्रविधिहरुबारेमा जानकारी लिनका लागि कृषि विकास कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्नुभयो । कार्यक्रममै च्याउ उत्पादक किसान जिल्ला संघ काभ्रेका उपाध्यक्ष सन्देश प्रधानले किसानको सम्मानमा समूहले च्याउ दिवस मनाएर सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमकै अवसर पारेर खोपासीमा २०४६ सालदेखि च्याउ खेतीमा निरन्तर संलग्न अगुवा किसान कृष्णदास उलकलाई सम्मानपत्रबाट अभिनन्दन गरिएको छ । उहाँलाई नगरप्रमुख रामशरण भण्डारीले सम्मानपत्र, बागवानी कार्यालय प्रमुख विष्णु बोगटीले दोसल्ला र वडाअध्यक्ष मोहनबहादुर भण्डारीले उपहार प्रदान गनुभयो । सम्मानका लागि द ब्ल्याक ग्राफिक्स बनेपा र पाँचखाल बीज भण्डारले सामग्रीहरु उपलब्ध गराएका हुन् । सम्मानित किसान उलकले च्याउ खेतीमा छोरी र ज्वाइँलाई समेत संलग्न गरेर खेतीको पुस्तान्तरण गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा समूहका सदस्य बद्री गोक्षे र अविनाश पहरीले कन्ये तथा गोभ्रे च्याउ तथा ती च्याउका बलहरु प्रदर्शनीमा राखेका थिए ।

समूहका अध्यक्ष मधुसुधन गुरागाईं सभाध्यक्षता र कोषाध्यक्ष सबिना पहरीको उद्घोषणमा सञ्चालित कार्यक्रममा वडा सदस्यद्वय उमेश महत र जितबहादुर श्रेष्ठ, वडा सचिव सुनिल भण्डारी, खोपासी प्रहरी चौकीका इन्चार्ज प्रसनि रामेश्वर पाण्डे, नवमल्लिका कृषि सहकारीका अध्यक्ष बिनोद कोइराला, खोपासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उत्तमदास उलक, ललिता त्रिपुरासुन्दरी टोल विकास संस्थाका अध्यक्ष पुरुषोत्तम पौंजु, उपाध्यक्ष जगन्नाथ भण्डारी, पनौती नगरपालिका कृषि विकास शाखाकी प्राविधिक सम्झना लिंखालगायत टोल विकास संस्थाका सदस्यहरु, समूहका सदस्यहरु तथा च्याउ उपभोक्ताहरुको सहभागिता थियो ।

नेपालमा च्याउखेती वि.सं. २०३१ सालमा कृषि विभागअन्तर्गतको बालीरोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट सुरु गरिएको थियो । राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको पाइन्छ ।

२०३४/३५ सालबाट नै काठमाडौको बलम्बु, चापागाउ, दधिकोट हुँदै नेपालका बिभिन्न स्थानमा निरन्तर रुपमा च्याउखेती गरिदै आइएको छ । हाल नेपालमा गोभ्रे, कन्ये, किङ वयस्टर, सिताके च्याउ गरी जम्मा ४ जातका च्याउहरूको कृत्रिम ढंगले खेती प्रविधि विकसित भई सके तापनि कन्ये तथा गोब्रे २ जात मात्र कृषकस्तरमा वढी परिचित र प्रचलनमा आएको पाइन्छ ।

च्याउ उत्पादनको लागि च्याउको बीउ उत्पादन केही वर्ष अघिसम्म खुमलटारमा मात्र सीमित थियो भने, हाल आएर पोखरा, विराटनगर र धरानमा समेत यसको उत्पादन भरहेको छ । च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ ओटा रहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ०.१५५ योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकहरूको आयआर्जनको माध्यमको रुपमा रहेको छ । नेपालमा ११५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खान योग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।