ललितपुर। सरकारले पुस १५ लाई प्रत्येक वर्ष ‘राष्ट्रिय च्याउ दिवस’का रूपमा घोषणा गरेपछि यस वर्ष च्याउ उत्पादक किसान संघ नेपालले ‘प्रथम राष्ट्रिय च्याउ दिवस’को अवसरमा भृकुटीमण्डपमा ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना गर्न लागेको छ। आज संघले पत्रकार सम्मेलन गर्दै मेलाको विस्तृत जानकारी सार्वजनिक गरेको छ।
सातौँ संस्करणको यस च्याउ दिवस च्याउ किसानहरूको पहलमा मनाइँदै आएको भए पनि यस वर्ष राज्यको तर्फबाट औपचारिक रूपमा मनाइने पहिलो पटकको राष्ट्रिय च्याउ दिवस हो। संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार यस दिवसको स्थापना च्याउ उत्पादनमा संलग्न किसानलाई संगठित गर्दै आत्मनिर्भर बनाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने लामो समयदेखि गरिएको पहलको परिणाम हो। संघले च्याउ उत्पादन मात्र नभई यसको पोषण मूल्य, स्वास्थ्य लाभ र उपभोक्तामाझ जागरण फैलाउने काम गर्दै आएको छ।
मेलाको कार्यक्रम पुस १५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार प्रमुख अतिथि रहनेछन्। च्याउ किसान, विज्ञ, विभिन्न संघ संस्था, राजनीतिक र सामाजिक व्यक्तित्व तथा आम नागरिकको सहभागिता रहने जनाइएको छ।
मेलामा च्याउ किसान र विज्ञबिच छलफल, ४० भन्दा बढी स्टलमा च्याउ उत्पादन, जात र आवश्यक उपकरणको प्रदर्शनी, च्याउका विभिन्न परिकारहरूको स्वाद तथा प्रदर्शन, गोभ्रे, कन्ये, किङ ओइस्टर र सिताके च्याउको व्यवहारिक प्रदर्शन साथै राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम हुने जानकारी संघले दिएको छ।
नेपालमा करिब ३६ हजार किसान च्याउ खेतीमा संलग्न छन् र यसको कारोबार करिब २० अर्ब रुपैयाँको हाराहारीमा रहेको संघको अनुमान छ। केही वर्षअघिसम्म भारतबाट आयात हुने गोभ्रे च्याउ अहिले पूर्ण रूपमा स्वदेशमै उत्पादन भइरहेको छ।
च्याउ उत्पादक किसान संघ नेपाल २०६१ साल पुस १५ गते स्थापित भएको हो। संघले २०७६ सालमा मेचीदेखि महाकालीसम्म ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरी च्याउ दिवस घोषणा गर्न निरन्तर पहल गर्दै आएको थियो। त्यसयता हरेक वर्ष पुस १५ गते च्याउ दिवस विविध कार्यक्रममार्फत मनाइँदै आएको छ।









