ललितपुर। सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ ।
यस कार्यविधिअनुसार साना र सीमान्तकृत किसानलाई कृषि यन्त्रमा सहज पहुँच पुर्याउन ‘कस्टम हायरिङ्ग सेन्टर’ स्थापना गरिने छ । यी केन्द्रहरूलाई आवश्यक कृषि यन्त्र खरिदमा ५० प्रतिशत र भौतिक पूर्वाधार निर्माणमा पनि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध हुनेछ ।
साथै, केन्द्र तथा फर्मबाट सञ्चालन गरिने मेला, दिवस, प्रयोगशाला सेवा, तालिम, गोष्ठी, सचेतना, प्रविधि प्रदर्शन र आकस्मिक बाली लगायत कृषि प्रसार कार्यक्रमलाई शतप्रतिशत नै अनुदान दिइने कार्यविधिमा उल्लेख छ ।
अनुदान प्रणालीलाई थप पारदर्शी र न्यायोचित बनाउन मन्त्रालयले विभिन्न कार्यक्रममा दिइने अनुदानको सीमालाई स्पष्ट रूपमा परिभाषित गरेको छ । सामुदायिक बीउ बैंकको सुदृढीकरणका लागि ८५ प्रतिशतसम्मको उच्च अनुदान राखिएको छ ।
खाद्यान्न, तेलहन, रैथानेलगायतका बालीको उत्पादन प्रवद्र्धन, बीउ संरक्षण तथा उत्पादन, कृषि जैविक विविधता संरक्षण तथा प्रवद्र्धन एवम् फार्म केन्द्रको संस्थागत सुदृढीकरण यस कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्ने, लाभग्राही छनौट गर्ने र सम्झौता गरिनेछ ।
कार्यक्रमअन्तर्गत कृषक, कृषक समूह वा सहकारी, सामुदायिक बिउ बैंक वा अन्य संस्थालाई अनुदान सहयोग उपलब्ध गराएनेछ । फार्म केन्दहरु मार्फत फार्म बाहिरका स्थानमा उन्नत बिउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो कार्यविधि यही पुसदेखि कार्यान्वयनमा आएको छ ।









