ललितपुर। सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको हो ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले च्याउ खेतीको प्रवर्द्धन, किसान प्रोत्साहन तथा कृषि आत्मनिर्भरतामा टेवा पुर्याउने उद्देश्यले दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।
यसअघि च्याउ उत्पादक किसानहरूको सक्रियतामा पुस १५ लाई च्याउ दिवस मनाइदै आएको छ । यस बर्ष पनि च्याउ उत्पादक किसान संघ, नेपालले सातौँ राष्ट्रिय च्याउ दिवस–२०८२ मनाउने निर्णय गरेको छ ।यो च्याउ किसानहरूको पहलमा मनाइँदै आएको सातौँ संस्करण भए पनि राज्यको तर्फबाट औपचारिक रूपमा मनाइने पहिलो राष्ट्रिय च्याउ दिवस हो ।









