ललितपुर। च्याउ उत्पादक किसान संघ नेपालले सातौँ राष्ट्रिय च्याउ दिवस–२०८२ मनाउने भएको छ । च्याउको उत्पादन, उपभोग, पोषण तथा किसानको हकहित प्रवर्द्धन गर्ने उद्देश्यका साथ संघले पुस १५ गते च्याउ दिवस मनाउन लागेको हो ।
च्याउ पारखीहरूका लागि संघले विशेष पर्वको रूपमा पुस १५ मा विभिन्न कार्यक्रमहरूको आयोजना गरी च्याउ दिवस मनाउँदै आएको छ ।
संघका अनुसार प्रवेश निःशुल्क रहेको च्याउ मेला तथा परिकार महोत्सवको मुख्य आकर्षणको रूपमा सांगितिक कार्यक्रमहरू, च्याउ खेती र प्रविधि प्रदर्शन र च्याउका परिकार स्टलहरू रहने छ ।
च्याउ दिवसका अवसरमा देशभर तथा केन्द्रीय रूपमा भृकुटीमण्डप, काठमाडौँमा विभिन्न सचेतनामूलक कार्यक्रम, छलफल, प्रदर्शनी तथा अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिने संघले जनाएको छ।
च्याउ उत्पादक किसानको मेहनतको सम्मान र सुरक्षित, पोषणयुक्त च्याउ उपभोगको सन्देश फैलाउन संघले हरेक बर्ष विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै च्याउ दिवस मनाउँदै आएको छ ।









