चितवन।  ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराका साथ माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुर महानगरपालि -१० स्थित चितवन प्रदर्शनी केन्द्रमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ हुने भएको छ ।

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा डेरी उत्पादन, नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्ने उदेश्यले किसान, उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याई व्यवसायीक संजालको अवसर सिर्जना गर्ने उदेश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको पहलमा पहिलो वर्ष राष्ट्रिय संस्करणको रुपमा गरिएको डेरी एक्स्पोका कारण दुग्धजन्य उत्पादनको विविधिकरणमा सहयोग पुगेकोले  यस वर्ष अन्तर्राष्ट्रिय संस्करणको रुपमा एक्स्पो गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी गराए । प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा वीमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका १ सय भन्दा बढी स्टलहरु रहने छन् ।

प्रदर्शनीमा डेरीजन्य उत्पादन, मेशिनरी तथा प्रविधिको प्रदर्शनी, कार्यशाला र तालिम सञ्चालन, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी, आदिका अनुभव र सफलताका कथाहरु, प्रत्यक्ष प्रदर्शन कार्यक्रमहरू, पुरस्कार वितरण कार्यक्रम रहनुका साथै ७ वटै प्रदेशको कृषि मन्त्रालयको सिफारिसमा प्रत्येक प्रदेशका १/१ जना दुग्धजन्य उत्पादक कृषक र उद्यमीलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट गाई प्रदर्शकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

करिब ५० हजार अवलोकनकर्ताहरुको सहभागिता रहने लक्ष्य लिइएको एक्स्पो वास्तविक किसानको लागि लाभदाएक रहने आयोजकले विश्वास लिएको छ ।