सिन्धुली। जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ । उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ ।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताए । । उनले भने, “जुनारको प्रवर्द्धन, क्षेत्र विस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ ।

सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब रु. ३४ करोडको जुनार बिक्री भएको छ । किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु. ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ ।

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ ।

व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताए । “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई नै केन्द्रित गर्ने गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो”, उनले भने ।

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न सहयोगको अपेक्षा गरिएको बताए। सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तला खेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् । एउटा बोटबाट अधिकतम् रु. २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।