ललितपुर। एशोसिएशन अफ एग्रीकल्चर टेक्नोलोजी इन्डस्ट्री (आटी) नेपालको दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष खोजराज कटवालले कृषि प्रविधिको विस्तार, किसानमैत्री प्रविधिको विकास तथा उद्योग–व्यवसायमा सहज वातावरण निर्माण गर्न संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेलले कृषि प्रविधि क्षेत्रमा सरकारको प्राथमिकता उच्च रहेको उल्लेख गर्दै आधुनिक उपकरण, मेकानाइजेशन र प्रविधिमैत्री उत्पादन प्रणालीले नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै आवश्यक नीतिगत वातावरण प्रदान गर्ने आश्वासन पनि दिए।
साधारणसभामा एग्रीकल्चर टेक्नोलोजी उद्योगका प्रतिनिधि, नीति विशेषज्ञ, उद्यमी तथा कृषि प्रविधिमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा नीतिगत सुझावहरू प्रस्तुत गरिएको थियो ।









