ललितपुर। ललितपुरको जावलाखेल मैदानमा जारी ‘१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी -२०८२’ आज सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा असोज २९ गतेदेखि शुरु भएको सो प्रदर्शनीमा ३९ हजार बढीले अवलोकन गरेका थिए, भने १ करोड ३३ लाख बढीको कारोबार भएको जनाइएको छ । प्रदर्शनीको अन्तिम दिन आज मात्र साढे २८ लाखको कारोबार भएको मेला संयोजक सुमन महर्जनले बताए । प्रदर्शनीमा विशेषगरी गोदावरी, सयपत्रीकोलगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको सँख्या बढ्दै गएको बताए । बर्सेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताहरुबीच थप समन्बन्ध विस्तार भइ फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।

आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजूद पनि अबलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल)ले बताए । प्रदर्शनीको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको तामाङको दावी छ । प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५ वटा, प्रतियोगितात्मक स्टल २ वटा र फोटो सेल्फी स्टल २ वटा गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्सरी, दोस्रो माई नर्सरी र तेस्रो आजिमा नर्सरी रहेका छन् । त्यसैगरी, उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माई नर्सरी, वेष्ट मिनियचनर सम्झना नर्सरी, बेष्ट इन्कर्भमा आजिमा नर्सरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्सरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्सरी र बेष्ट स्टलमा दिक्षा नर्सरीले उत्कृष्ट पुरस्कार पाएका छन् ।

नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय शुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले विस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । वि.सं. २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीक विकास, विस्तार र प्रबद्र्धनले गति लिएको हो । हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको फ्यानको जनाएको छ । पुष्प खेती भईरहेको जिल्ला संख्या ५२ वटा रहेको छ, भने २ सय ७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प क्षेत्रमा १ हजार २ सय ३५ भन्दा बढी पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको अवस्था छ, भने पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्व ८३ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरी अनुमानित ५३ हजार ५ सय भन्दा बढी जनशक्तिहरु रोजगार रहेको छ । पुष्पको वार्षिक कारोबार ३ अर्ब ३७ करोड रुपैयाँ रहेको फ्यानले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १ करोड २ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा १०९.१६ प्रतिशतले बृद्धि भई २ करोड १३ लाख ६० हजार रुपैयाँको करोबार भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८/०८१ को तुलनामा आर्थिक वर्ष २०८१ /०८२ मा ५४.२७ प्रतिशतले आयात कारोबारमा कमी आई पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक आयात कारोबार १२ करोड ७० लाख ८९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा २७ करोड ७९ लाख ०५ हजार रुपैयाँ बराबरको आयात कारोबार रहेको थियो । पुष्प तथा पुष्पजन्य वस्तुको बजार मागमा हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले थपिने गरेको छ ।