
ललितपुर। ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सीआईएएमई एसिया २०२५’ मा सहभागी हुन नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा ३० सदस्यीय प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गरेको छ।
कृषि यान्त्रिकरणमा संलग्न व्यवसायी, आपूर्तिकर्ता तथा प्राविधिकहरू सम्मिलित नेपाली टोलीले प्रदर्शनीमा सहभागी भइ नवीनतम प्रविधिहरूको अवलोकन कार्यक्रम रहेको छ । संघका अनुसार सहभागिताबाट व्यवसायीहरूको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भइ नेपालको कृषि यान्त्रिकरण प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
चीन कृषि मेसिन वितरण संघ (क्याम्डा) र थाई कृषि इञ्जिनियरिङ समाज (टिएसएई) को संयुक्त आयोजनामा सीआईएएमई एसिया २०२५ यही २०८२ साउन ७ देखि ९ सम्म थाइल्याण्डमा आयोजना हुँदैछ। यो थाइल्याण्डमा आयोजना हुने पहिलो तथा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हो । जसमा थाइल्याण्ड, चीन तथा एसियाका अन्य देशका कृषि विज्ञ, उद्योगपति, नीति निर्माता र व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखिएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) अध्यक्ष शर्माले सीआईएएमई एसिया २०२५ मा नेपालको सहभागिता कृषि यन्त्र तथा उपकरणको क्षेत्रमा काम गर्दै आएका व्यवसायीलाई नेपालको माटो सुहाँउँदो यान्त्रिकरणको प्रवर्धनमा टेवा प¥याउनुका साथै व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध सुदृढ बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।