
ललितपुर। उदयपुरमा खयरका रुख कटान गरी व्यापक तस्करी भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. १० अन्तर्गत पाल्सीङ्ग भन्ने ठाउँमा खयरको रुख अबैधरुपमा कटान गरी व्यापक तस्करी भएको हो । तस्करीले खयरको रुख काटेर लगेपछि घना बन रहेको उक्त क्षेत्रको बनभरी खयरका ठुट्टा मात्रै रहेका छन् । उक्त तस्करीमा स्थानीयसमेत गरी दुई दर्जन बढीको संलग्नता रहेको प्रारम्भीक अनुमान लगाइएको छ । खयर तस्करीमा संलग्न भएको आरोपमा स्थानीय तीनजना विरुद्ध डिभिजन बन कार्यालय त्रिवेणीमा उजुरी दिइएको छ । स्थानीय गणेशबहादुर राउतले उक्त मुद्दा हालेका हुन् ।
खयरका रुख काटिएको ठुट्टा, खयर ढुवानी हुँदै गरेको गाडी र गाडी नम्बर सहित उल्लेख गरेर दिइएको उजुरीमा स्थानीय निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । त्यसैगरी तस्करीका खयर ढुवानीमा बा २० च ७२६१ उल्लेख छ । खयरको रुख तस्करीका मूख्य नाइके भीम मगर भएको मुद्दा हाल्ने गणेश बहादुर राउतले दाबी गरे । खयरको रुख तस्करीको विषयलाई लिएर मगरले गणेशबहादुर राउतलाई ज्यान मार्ने धम्की समेत दिएको बताए ।
‘नयाँ–नयाँ नम्बरबाट थप फोनहरु आइरहेको छ ।’ गणेश राउतले भने– ‘ज्यान मार्ने धम्की आएसँगै थप नयाँ नम्बरहरुबाट फोन आइरहेको संभवत तिनै तस्करीको हुनसक्छ ।’
निवदेनमा कुनै पनि निकायबाट स्वीकृत नलिई अबैधानिक तथा गैह्र कानुनी किसिमले खयरका रुख काटेर तस्करी गरिएको बताइएको छ । त्यस्तै के कति खयर त्यसरी काटिएको हो, स्थलगत हेरी तस्करीमा संलग्नहरुलाई प्रचलित ऐन बमोजिम कारवाहीको माग गर्दै बनको सुरक्षा गर्न भनिएको छ ।
डिभिजन बन कार्यालय त्रिवेणीका बन अधिकृत अरविन्द पाण्डेले खयरका रुख तस्करी भएको स्वीकारे । ‘हामीले बनमा गएर स्थलगत अवलोकन गर्दा खयरका रुख तस्करी भएको छ ।’ उनले भने– ‘मुचुल्का उठाइसकिएको र आरोपितहरुलाई पक्राउ पुर्जी जारी गरिसकिएको छ ।’
संलग्नहरुलाई आवश्यक छानविन गरी कारवाही गरिने अधिकृत पाण्डेले बताए । यद्यपी निवेदनमा उल्लेख भएका आरोपीहरु फरार रहेको पनि पाण्डेले जानकारी दिए । यहाँबाट तस्करी भएको खयर भारततर्फ विक्री वितरणको लागि लैजाने गरेको बताइन्छ ।
हुउपयोगी खयरमा औषधिय गुण हुने गर्दछ । महंगोमा विक्री हुने खयरबाट बहुमूल्य औषधी, फरफ्यूमलगायतका बस्तुहरु बनाउने गरिन्छ । यसलाई चियापत्तीका रुपमा प्रयोग गरिनुका साथै घरेलु मदिराहरु समेत यसको व्यापक प्रयोग गरिन्छ ।
फोटो : सामाजिक संजाल