ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का विशेष प्रतिनिधि ड्यानियल गुस्टाफसनबीच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री अधिकारीले एफएओलाई नेपालको प्रमुख विकास साझेदारका रूपमा उल्लेख गर्दै सन् २०१५ पछि पोषण तथा खाद्य सुरक्षालाई नेपालको विकास एजेण्डामा मूल प्रवाहमा ल्याउन एफएओले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले एफएओद्वारा सञ्चालित परियोजनाहरूले नेपालको खाद्य तथा पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु उत्थानशीलता निर्माण, आपतकालीन अवस्थाको तयारी, ग्रामीण महिलाको आर्थिक सशक्तीकरण लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताए ।

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत सुरक्षित, वातावरणमैत्री र विज्ञानमा आधारित कृषि ज्ञान कृषकसम्म पुर्‍याउन मन्त्रालय इच्छुक रहेको उल्लेख गरे । साथै, नेपालको कृषि उपजको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न क्वारेन्टाइन व्यवस्थापन, विषादी नियन्त्रण र भौगोलिक संकेत (GI) जस्ता क्षेत्रमा एफएओको निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे ।

भेटमा बोल्दै एफएओका विशेष प्रतिनिधि ड्यानियल गुस्टाफसनले जलवायु परिवर्तनका असरले कृषि क्षेत्र प्रभावित भएको र नेपालजस्ता मुलुकलाई थप चुनौती थपिएको उल्लेख गर्दै, यस्ता चुनौतीको सामना गर्न जलवायु अनुकूलन कार्यक्रमको आवश्यकता रहेको बताए । उनले नेपालको कृषि क्षेत्रमा देखिएको सम्भावना उल्लेख गर्दै, आगामी दिनमा आधुनिक कृषि प्रणाली र नवीन आयामहरूलाई अंगीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटवार्तामा एफएओका नेपाल तथा भूटान प्रतिनिधि केन सिमिजु, कृषि मन्त्रालयका सहसचिव हरिवहादुर के.सी. लगायतको उपस्थिति रहेको थियो ।