
ललितपुर। नेपालीहरूको प्रमुख खाद्य बाली हो धान । नेपालमा असारको पहिलो सातादेखि धान रोपाइँ सुरु गरिन्छ । असार महिना सुरु हुन केहि दिन मात्र बाँकी छ । अहिले देशैभरका किसानहरूले धानको ब्याड राख्ने तयारी गरिरहेका छन् ।
यसकारण धान खेती गर्दा धानको ब्याड राख्ने विधि तथा व्यवस्थापनका बारेमा जानकारी हुनु आवश्यक छ । यस सामग्रीमा कृषकहरूलाइ जानकारी गराउने उद्देश्यसहित धानको ब्याड राख्ने विधि तथा व्यवस्थापनका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
बीउको उपचार :
बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम (Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ।
धानको स्वस्थ बीउ छान्ने विधि:
१. एउटा बाल्टी वा बीउको परिमाणअनुसारको भाँडामा पानी भर्नुहोस् (बीउ राख्दा नपोखिने जति)
२. त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्।
३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको आधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।
४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्।
५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल स्वस्थ बीउहरू थिग्रिनेछन्।
६. थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक सफा गर्नुहोस् (बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन) र छायाँमा लगी सुकाउनुहोस्।
एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५-६ पटकसम्म प्रयोग गर्न सकिन्छ।
यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।
धानको ब्याड तयार गर्ने विधिहरू :
१. हिले ब्याड
हिले ब्याड सिँचाई प्रशस्त ठाउँमा हुनुपर्दछ । यो ब्याड तयार गर्दा जमिनमा सिँचाई गर्ने, जोले, मल राख्ने, हिलाउने र समतल ब्याड तयार गर्ने कार्य गरिन्छ । तयार भएको ब्याडमा एकनासले बीउ छरिन्छ । ब्याडमा २ देखि ३ से।मी पानीमा राख्नुपर्दछ । तुलनात्मक रूपमा हिले ब्याडमा झारपात तथा मरूवा रोगको प्रकोप कम हुने र हिले ब्याडमा तयार भएका बेर्ना धुलो ब्याडमा तयार भएका भन्दा अग्लो र कमजोर हुने अनुसन्धानबाट पाइएको छ ।
२. धुले ब्याड
धुले ब्याड पानी कम भएको ठाउँमा उपयुक्त हुन्छ । यो ब्याड तयार गर्दा जमिन राम्रोसँग खनजोत गर्ने, मल राख्ने, झारपात हटाउने र समतल ब्याड तयार गर्ने कार्य गरिन्छ । तयार भएको ब्याडमा बीउ छरिन्छ । तुलनात्मक रूपमा धुले ब्याडमा मरूवा रोगको प्रकोप बढी हुने तथा उखेल्दा बेर्नाको जरा क्षति हुने सभावना धेरै हुने अध्ययनबाट पाइएको छ । साथै धुले ब्याडमा तयार भएका बेर्ना बलियो र होचो हुने पनि पाइएको छ ।
बीउ छर्ने तरिका :
धुले ब्याडमा एकनासले हल्का रूपमा माटोले ढाक्नुपर्दछ । धुले ब्याडमा चिस्यान भए टुसाएको बीउ छर्न सकिन्छ अथवा नभिजेको बीउ पनि छर्न सकिन्छ । हिले ब्याडका लागि बीउलाई २४ घण्टा पानीमा भिजाउने, माथि तैरिएको बीउलाई हटाउने, तल थिग्रिएको राम्रो बीउलाई २४ घण्टा जुटको बोरामा राखी टुसाउन दिने र छर्ने ।
ब्याडमा सिँचाई व्यवस्थापन :
बेर्नाको आवश्यकताअनुसार माटो ठिक्क भिज्ने गरी धुले ब्याडमा सिँचाई गर्नुपर्दछ । हिले ब्याडमा बीउ उम्रेर ३ से.मी. भएपछि झारपात आउन नदिन छिपछिपे पानी जमाइ राख्नुपर्दछ ।
ब्याडको रेखदेख :
नाइट्रोजनको कमिले बेर्ना पहेँलो भएमा २० ग्राम युरिया प्रतिवर्गमिटरका दरले टपड्रेस गर्ने अथवा ५ ग्राम युरिया १ लिटर पानीमा मिसाय छर्ने । मरूवा रोग लागेमा हिनोसान १ एम.एल. प्रतिलिटर पानीमा मिसाइ छर्ने । कीराको प्रकोपबाट बचाउन कस्तो प्रकारको कीराको प्रकोप हो सो आधारमा व्यवस्थापन गर्नुपर्दछ । झारपात तथा बेजातको बोटलाई उम्रेको ७ दिनभिन उखेलेर सफा गर्ने ।
ब्याडबाट बेर्ना उखेल्ने :
बेर्ना २० देखि २५ दिनको भएपछि रोपाइँका लागि उपयुक्त हुन्छ । रोप्ने बेला बेर्नामा ४ वटा पात भएको हुनुपर्दछ । बेर्ना उखेल्दा एकै पटकमा २ देखि ३ ओटा बेर्नाको फेदमा बुढीऔंला र चोरऔंलाले समातेर उखेल्नुपर्दछ । बेर्नाका जराहरू नचुँडिने गरी उखेल्नुपर्दछ र सोहि दिन तयारी जमिनमा रोपाइँ गर्नुपर्दछ ।