ललितपुर। दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो यही चैत २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । एक्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने नर्सरी व्यवसायी संघले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।

मेलामा ७० वटा व्यवसायिक स्टल, ३ वटा फुड स्टल, ८ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल गरी जम्मा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पुर्णको लागि यस मेला बृहत साझा मञ्च हुने मेला संयोजक तथा वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले बताए । मेलामा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्नुका साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा गरेको छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

संस्थाले नर्सरी व्यवसायीहरूको क्षमता विकासका लागि स्वयं प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुने दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी सस्था ए.जि.ए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सृजना एग्रीकल्चर प्रा.लि. र ए.बि.टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवल फार्म रहेको छ ।

मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने अझ भन्ने हो भने समय कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित र झकृत गर्ने विश्वास रहेको आयोजकले जनाएको छ।

नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार प्रबर्द्धन गरी देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गरी व्यवस्थित बनाउने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ औपचारिक रूपमा स्थापना भएको हो ।