
वालिङ। स्याङ्जाको चापाकोट ५ मा रहेको विस्टारीमा झाडी बनेको पाखो करोड आम्दानीको स्रोत बन्दै छ । स्थानीय उपकार सहकारीबाट सहुलियत कर्जाबाट यहाँका एक किसानले झाडी बनेको पाखो जग्गालाई उपयोग गरेर करोड आम्दानीको स्रोतमा परिणत गर्नुभएको हो । वषौंदेखि खाली रहेर झाडी बनेको पाखो जग्गालाई उपयोग गर्दै यहाँका विपिन डोटेलले दिगो आम्दानीको स्रोतकारुपमा विकास गर्ने उद्देश्यले कृषि उद्यम गर्नुभएको छ ।
चापाकोट नगरपालिका ८ को दामाचौरमा विगत १० वर्षदेखि व्यापार व्यवसाय गर्दै आउनुभएका डोटेल आफ्नै गाउँ बिस्टारीमा “परिवर्तन कृषि तथा बाख्रा फर्म” सञ्चालन गरेर उद्यम विकासमा लाग्नु भएको हो ।डोटेलले बिस्टारीमा कृषि उद्यम सुरु गरेको ४ वर्ष भयो । उहाँको फर्मबाट आम्दानी लिन सुरु भैसकेको छ । डोटेल एक्लैले पाखोबारी र खेतमा एभोकाडो, आँप, लिची, अगरउड तथा ड्रागन फ्रुट लगाउनु भएको छ । साथमा उहाँले बाख्रा पनि पाल्नुभएको छ । खाली जग्गाको सदुपयोग गरेर कृषि उद्यममा लाग्ने हो भने लाखौं आम्दानी लिन सकिने डोटेलको फर्ममा देख्न सकिन्छ । यसरी मिस्रितरुपमा काम गरेर सफल हुन सकिएला र ? भन्नेहरुका लागि डोटेलको जाँगर र व्यवस्थापनले जवाफ दिन्छ । किनकि डोटेलको बगैंचामा लगाइएका एभोकाडोलगायतका फलफूलहरु हलक्क बढेर हराभरा भएका छन् । मौलाउँदै गरेका बहुवर्षीय फलफूल बगैंचाबाट आम्दानी लिन सुरु भैसकेको छ ।
व्यापारपछि कृषि उद्यममा लाग्नुको कारण र उद्देश्यका सन्दर्भमा डोटेल भन्नुहुन्छ—
किसानको छोरा, आय आर्जनका लागि स्थानीय दामाचौर बजारमा व्यापार व्यवसाय गर्नथालें । दश वर्ष व्यापार गर्ने र त्यसपछि कृषि पेशा गर्ने योजनासहित व्यवसाय गरेको हुँ । गर्दै आएको किराना पसल अहिले पनि छ, जुन श्रीमती राधाले हेर्छिन् । स्थायी पेशा कृषि गर्नुपर्छ भन्ने पहिला देखि कै मान्यता थियो । व्यापार व्यवसाय गरेर पनि कृषि काम गर्न कुनै अफ्ठ्यारो छैन, धेरै रमाइलो र आनन्द लाग्छ ।
आफ्नै बुवाको जग्गा, खेतिपाती नगरेपछि जङ्गल भएको थियो, फडानी गरेर फलफूल लगाएको हो । आफ्नोसहित दाजुको जग्गासमेत लिएर करिव ८० रोपनीमा फर्म सञ्चालन गरेको छु । झाडी फडानी गरेर सुरुमा एभोकाडो लगाएको हुँ, जुन वषौंसम्म फलिरहन्छ ।
दैनिक विहान ६ बजेदेखि साँझसम्म यहि बगानमा समय दिन्छु, सबै राम्रो हुँदै आएको छ । खाना खाने बाहेकको समय यही बगैँचालाई दिने गरेको छु । गरे अनुसार राम्रो पनि हुँदै आएको छ, खुसी र आनन्द लागेको छ । धेरैजसो बारी थियो र केही खेत छ । एभोकाडोको बिरुवा धनकुटादेखि ल्याएको हो । यसको फल कुनैपनि रोग लागेका बिरामीले खान हुने, मिठो र स्वास्थ्यवर्धक मानिन्छ । यसलाई घिउ फल पनि भनिन्छ, किनभने राम्रोसँग पाकेको एभोकाडोको स्वाद हामीले खाने गरेको घिउको जस्तै हुन्छ । बच्चादेखि वृद्धासम्म सबैलाई उपयुक्त र शक्तिवर्धक फलकोरुपमा मानिन्छ । आँफूले खानथालेदेखि थप उर्जावान बनाएको महसुस गरेको छु ।
युवाहरुमा वैदेशिक रोजगारीको लहर चलेको छ । विदेशमा पनि सुख र सजिलो अवस्य छैन । पैसा कमाउनका लागि कडा परिश्रम गर्नुपर्छ । यहाँ यसै खाली रहेका जमिन जति पनि छन् । विदेशमा गर्ने परिश्रम यहाँ गर्ने हो भने धेरै कमाई र रमाई हुन्छ । दिगो आम्दानीको माध्यम बनाउन सकिन्छ । अबको एक दुई वर्षपछि यो बगानले करोड आम्दानी दिन्छ भन्ने विश्वास छ । राम्रो फल्छ, विक्रिको समस्या छैन ।
सुरुगर्दाका समयमा व्यापार गरेको मान्छेले यस्तो पाखोमा के गर्न लागेको होला भनेर छिमेकिहरुले भन्थे । कोदो मकै फल्ने बारी र धान फल्ने खेतमा यो के लगाएको होला ? सुनिएको पनि थिएन, देखिएको पनि थिएन भन्थे । बरु त्यही कोदो मकै धान लगाएको भए हुनेथियो नि भन्नसम्म भ्याउँथे । अहिले विक्रि गरेर पैसा पार्न सुरु भएको देखेपछि ए यो त राम्रो पो होइछ, यसको बिरुवा कहाँ पाइन्छ, हामीले पनि लगाउन पाए हुन्थ्यो भन्न थालेका छन् ।
यसका लागि पानी बढि भएको ठाउँमा नहुने भएकाले सुख्खा ठाउँ राम्रो हुन्छ । समुद्ध्र सतहदेखि करिव ५सयको उचाइमा रहेको यो ठाउँ सुख्खा नै छ । हेरचाहमा कुनै समस्या छैन, वर्षमा एक दुई पटक पानी र मल दिए पुग्छ बाँकि वर्षादको पानीले नै पुग्छ ।
सुरु गरेको ४ वर्ष भयो, गतवर्षदेखि फल्न सुरु गरेको छ, यो वर्ष केहि मात्रामा विक्रि पनि भयों । अहिले साढे तीन क्वीण्टल विक्रि गरियो । तीन वर्षको एउटै बोटमा १७ किलोसम्म फलेको थियो । बोट ठूलो हुँदैछ, क्रमिकरुपमा उत्पादन पनि बढ्दैजान्छ । प्रतिकिलो ३ सयमा विक्रि गरें । एभोकाडो लगाएको तीन वर्ष पुगेपछि उत्पादनसहित आम्दानी लिन सुरु हुँदोरहेछ भन्ने अनुभव भैसक्यो । योसँगै क्रमशः आँप, लिची, अगरउड र ड्रागन फ्रुटसमेत लगाएको छु । बगानमा एभोकाडोको मात्रै ४ सय बिरुवा छन, जसले फल दिन थालिसकेका छन् । यसैगरी आँप ४ सय छन्, यो पनि अर्को वर्षदेखि फल दिने तयारीमा छन् । लिची २ सय र अगरउडका ३ सय बिरुवा छन् । सबै गरेर फलफूलका १३ सय भन्दा धेरै बिरुवा बगैंचामा हुर्किरहेका छन् ।
यसैगरी ८० को हाराहारीमा बोयर जातका बाख्राहरु छन् । बाख्रा सुरु गरेको तीनवर्ष लाग्यो । सुरुको दुईवर्ष लगानीकै समय हुन्छ, अब बाख्राबाट पनि आम्दानी लिन थालिएको छ । समग्र नेपाललाई समृद्ध बनाउन कृषि कर्म गर्नुपर्छ भन्ने लाग्छ । म एक्लैले करिव ८० रोपनी पाखोमा फर्म सञ्चालन गरेको छु । यसैगरी अरुले पनि गर्ने हो भने धेरै राम्रो हुन्छ भन्ने लाग्छ । व्यवसाय गर्दैजाँदा सम्बन्धित निकायले पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । त्यसैले स्थानीयतह चापाकोट नगरपालिकालाई जानकारीसहित हेर्नका लागि अनुरोध गरेको छु, तर आउनु भएको छैन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूलाई भनेंको छु—“तपाईंहरु आइदिनुप¥यो, बगैचासँगै बाख्रा फर्म हेरिदिनुप¥यो, साथ सहयोग गरेर हौसला दिनुप¥यो, तर अहिलेसम्म आउनु भएको छैन ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाबाट भने आँप र लिचीको बिरुवा प्राप्त भएको थियो । बिरुवासँगै सिंचाईका लागि ढाई लाख रुपियाँ दिनुभएको थियो, त्यसले बगानको माथिल्लो भागमा पानी ट्याङ्की बनाएको छु ।
फर्म व्यवस्थापनका लागि स्थानीय उपकार बचत तथा ऋण सहकारीबाट सहुलियत ऋण लिएर सुरु गरेको हो । योसँगै अहिलेसम्म करिव एक करोड लगानी भैसकेको छ । करोड लगानी गरे पनि दुख छैन, खुसी नै लागेको छ, किनकि मेहनत गरे अनुसार राम्रो भएर आएको छ । हरियाली भएको छ, आम्दानीसमेत सुरु भैसक्यो अब धेरै राम्रो हुन्छ, ढुक्क छु ।