
ललितपुर | किसानहरूले प्रमुख खाद्यान्न बाली धान भित्र्याउँदै गर्दा कृषि विकास फार्म सुन्दरपुरले इरी नेपालको आर्थिक सहयोगमा जातीय मूल्याङ्कन तथा कृषक दिवस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता फार्मका प्रमुख वासुदेव भट्टराईले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ ज्यूले गर्नुभयो । कार्यक्रमा प्रदेश सरकारका तर्फबाट वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल बोहराको उपस्थिति रह्यो भने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रबाट बाली विकास अधिकृत नवराज जोशी सहभागी हनुभयो । कार्यक्रममा कृषि विकास फार्म, सुन्दरपुरका प्राविधिक, बिउ प्रयोगशाला, तालिम केन्द्र, माटो तथा बिरुवा संरक्षण प्रयोगशाला, कृषि ज्ञान केन्द्र कञ्चनपुर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि कृषि सहकारी र समूह प्रतिनिधिहरू, पत्रकार, मिलर्स र किसानहरूसहित ४० भन्दा बढी व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यस कार्यक्रमको प्रमुख उद्देश्य खेती प्रणालीमा नयाँ जातहरूको उपयुक्तता पहिचान, किसान तथा अन्य सरोकारवाला निकायहरू जस्तै मिलर,प्रसारकर्ता तथा अनुसन्धानकर्ता बीचको सहकार्यमा वृद्धि गर्ने र स्थानीय आवश्यकता अनुसारका उपयुक्त जातहरूलाई प्राथमिकता दिँदै विस्तारमा सहयोग गर्ने रहेको थियो । नेपाल सरकारले भर्खरै सिफारिस गरेका स्वयमसेचित धानका केही जातहरूको किसानहरूमा पहुँच वृद्धि गर्न ईरी नेपालले संघीय सरकार,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा दुई वटै कृषि विकास फार्महरूमा (सुन्दरपुर र चन्द्रडांगीमा) धानका नयाँ जातहरूको प्रदर्शनी कार्यक्रम राखेको हो । सुन्दरपुर फार्मको प्रदर्शनीमा हर्दिनाथ ६, हर्दिनाथ ५, घैया ३, हर्दिनाथ ३ र सर्जु ५२ (स्थानीय चेक) गरी ५ जातहरूको मूल्याङ्कन सहभागीहरूले गरेका हुन् ।
किसान तथा अन्य सहभागीहरूले आफ्ना आवश्यकताहरूमा केन्द्रित रही, व्यक्तिगत अवलोकनका आधारमा जातका विभिन्न गुणहरू अवलोकन गर्दै मन परेका गुणहरूलाई अधिकतम ५ अंक तथा कमसल देखिएका गुणहरूलाई न्युनतम १ अंक प्रदान गरी जातीय मूल्याङ्कन गरेका थिए ।
हर्दिनाथ ६ सहभागीहरू माझ सबैभन्दा बढी लोकप्रिय भयो । किसानले यस जातका विभिन्न गुणहरू केलाउँदै जस्तै मध्यम अवधिको (१३५ दिन) हुनु¸ मसिना दाना र उच्च उत्पादन क्षमता हुनु र अन्य जातको तुलनामा कम रोग किराको प्रकोप देखिनु आदि कारणले बढी रुचाएका छन् ।
हर्दिनाथ ५ न्युन मलको प्रयोगमा पनि राम्रो उत्पादन दिन सक्ने क्षमता भएको ग्रीन सुपर धानको जात (Green Super Rice Variety) भए तापनि यसले कृषकहरू माझ कम प्रशंसा पायो । फार्ममा यो जात रोग र किराहरू प्रति बढी संवेदनशील देखिएको र तुलनात्मक रूपमा कम गाज हालेको हुँदा किसानहरूले कम मन पराएका हुन् । थप अनुसन्धान गरेर मात्र यस जातलाई प्रसारमा बढाउन सकिने प्राविधिकको सुझाव रह्यो ।
हर्दिनाथ ३ लाई कम मात्रामा सहभागीहरूले रुचाए । लामा आकर्षक बाला र राम्रा दाना भएकोमा प्रशंसा पाए पनि हलुका तौल र दाना मिलमा काटिन सक्ने भनेर किसानले यो जात कम रुचाएका थिए ।
घैया ३ को प्रदर्शनी सन्तोषजनक रह्यो । पाखो बारीमा उपयुक्त रहेको र छोटो अवधिको (१०० दिन) भएकाले धानपछि तोरी तथा आलु तरकारी लगाउने किसानले यसको बढी प्रशंसा गरे ।
सर्जु ५२ को प्रदर्शनीमा राम्रो उत्पादन देखिए पनि रोग किराको उच्च जोखिमका कारण यसको लोकप्रियता घट्दै गएको छ । मोटा चामल भए पनि मध्यम अवधि, अढिलो¸ मीठो भात अनि उत्पादन पनि राम्रो भएका कारण सर्जु ५२ सुदूर पश्चिममा किसानहरूले यसलाई व्यापक रूपमा लगाउने गरेका हुन् ।
मध्यम अवधिको मसिनो चामल र प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चत गर्ने सकिने हुँदा, हर्दिनाथ ६ ले चामल र बिउ दुबैका रूपमा राम्रो बजार मूल्य पाउँछ । हर्दिनाथ ६ लाई अझै साता दश दिनअघि रोप्न सकिएमा थप लाभ लिन सकिने र साम्बा महसुरी सब १ जातलाई प्रतिस्थापन गर्न सकिने सम्भावना रहन्छ । हाल साम्बा महसुरी सब १ जातमा कालो पोकेको समस्या बढेको पाइएको छ ।
यस्तो किसिमको सहभागितात्मक जातीय मूल्याङ्कनले अनुसन्धानकर्ता, किसान, व्यवसायी मिलरह, उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई जोड्ने र एकमुष्ट रूपमा धानमा आधारित मूल्य शृङ्खला सुधार, खाद्य सुरक्षा सुनिश्चत तथा खेती प्रणाली विकासका र प्रवर्धन हुने विश्वास लिइएको छ । डा. रामकृष्ण श्रेष्ठले किसानको हितका लागि अनुसन्धान र प्रसार दुबैको महत्व रहेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । उनले कृषकहरूका आवश्यकतासँग मेल खाने, नयाँ तथा सुधारिएका जातहरू प्रवर्धन गर्न यस्ता कार्यक्रमले थप भूमिका खेल्ने बताउनु भयो । गोकुल बोहराले किसान हितकारी कार्यक्रबाट सम्पूर्ण सरोकारवाला निकायहरूलाई एक ठाउँ राखी सहकार्य गर्ने माहोल सिर्जना गरिदिएकोमा इरीलाई धन्यवाद दिनु भयो ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै कृषि विकास फार्मका प्रमुख वासुदेव भट्टराईले यस्ता कृषक लक्षित कार्यक्रमहरूले धानका नयाँ जातहरूको मूल्याङ्कन स्वयम् कृषकले नै गर्ने अवसर प्रदान गर्नुसँगै ती जातहरू बारे जनचेतना समेत अभिवृद्धि गर्न मदत पुगेको जानकारी दिनुभयो ।