धान नेपालकाे प्रमुख खाद्यान्न बाली हो । क्षेत्रफलको हिसाबले पनि यसको स्थान पहिलो नै छ। नेपालकाे  सन्दर्भमा अहिले पनि पराल खेतमै जलाई रहेको देखिन्छ जस्को मुख्य कारण यो हो कि उनलाई थाहा छैन कि उनी आफैलाई कति ठूलो नोक्सान पुर्याइ रहेका छन्। आज भन्दा १० वर्ष अगाडि पराल जलाउने घटनाहरू निकै कम थिए। पराल जलाउनाले किसानलाई तात्कालिक फाइदा हुन सक्छ, तर दीर्घकालिक नोक्सान भने धेरै हुन्छ। अधिकांश किसान अहिले धानको कटाई हार्वेस्टर मेशिनबाट गर्ने भएका छन्। यसबाट खेतहरूमा धानका अवशेषहरू बाँकी रहन्छन्। बाँकी अवशेषलाई किसानहरू खेतमै जलाई दिन्छन्। यसले खेतसँगै वातावरणलाई पनि नोक्सान पुर्याउँछ। किसानहरूले खेतमा बाँकी फसल अवशेषलाई जलाउँदा माटोको तापमान बढ्दछ, जसले गर्दा माटोमा भएको जैविक कार्बन जलेर कति नष्ट हुन्छ। यसबाट माटोको उर्वराशक्ति कम हुँदै जान्छ र बिस्तारै माटो बंजर बन्न थाल्दछ। किसानहरूले यो बुझ्नु अत्यावश्यक छ कि जुन माटोमा बढी सूक्ष्म जीव (माइक्रोब्स) हुनछन्, त्यो माटो उन्नत र जीवित हुन्छ, र त्यस माटोबाट बढी उत्पादन प्राप्त गर्न सकिन्छ। यसको विपरीत, जुन माटोमा कम सूक्ष्म जीव हुन्छन्, त्यो माटो मृत र निर्जीव जस्तो हुन्छ, र त्यहाँबाट राम्रो उत्पादन प्राप्त गर्नु कठिन हुन्छ । माटोमा पाइने अधिकांश सूक्ष्म जीव माटोको माथिल्लो तहमा पाइन्छन्। जब पराल जलाइन्छ, माटोको माथिल्लो तह अत्यधिक तातो हुन्छ र यी सूक्ष्म जीव मर्दछन्, जसले गर्दा माटो बिस्तारै खराब हुँदै जान्छ र अन्ततः बंजर बन्छ।

धानका अवशेष जलाउँदा माटोमा नाइट्रोजनको कमी पनि हुन्छ, जसको परिणामस्वरूप उत्पादन घट्छ र वायुमण्डलमा कार्बन डाईअक्साइडको मात्रा बढ्दछ। यसले वातावरणलाई प्रदूषित गरेर जलवायु परिवर्तनको कारण बनाउँछ। एक अनुमान अनुसार, एक टन बालीको अवशेष जलाउँदा लगभग ६० किलो ग्राम कार्बन मोनोआक्साइड, १४६० किलो ग्राम कार्बन डाईअक्साइड र २ किलो ग्राम सल्फर डाईअक्साइड ग्यास वातावरणमा फैलिन्छ, जसले पर्यावरणलाई नोक्सान पुर्याउँछ। किसानहरूले जनचेतनाको अभावमा पराल जलाईरहेका छन्। पराल जलाउँदा हाम्रा फाईदाजनक मित्र कीटहरूको ठूलो संख्या मर्छ, जसको कारण नयाँ-नयाँ रोग र कीटहरू हरेक वर्ष समस्या बनिरहेका छन्, जसलाई व्यवस्थापन गर्नका लागि हामीलाई कृषि रसायनमा निर्भर रहनु पर्छ। माटोमा रहेका हाम्रो मित्र सूक्ष्मजीवहरू, जो कृषि कार्यका लागि अत्यन्त महत्वपूर्ण छन्, पराल जलाउँदा मर्छन्, जसले माटोको संरचनामा हानि पुर्याउँछ। फसल अवशेषहरू, जुन सडेर माटोको उर्वराशक्ति बढाउन मद्दत पुर्याउँछन्, त्यसको फाईदा किसानहरूलाई प्राप्त हुँदैन। उपर्युक्त सबै लाभहरूबाट किसान वञ्चित भइरहेका छन् र तात्कालिक फाईदाको लागि पराल जलाईरहेका छन्, त्यसैले उनीहरूलाई यस विषयमा जागरूक गर्न आवश्यक छ ।

धानको पराल व्यावस्थापन विधिहरू :-

१. धानका अवशेषलाई पुनः माटोमा मिसाउनु
धानका अवशेषलाई जोताई गरेर माटोमा मिसाउन विशेष जोताई उपकरणको आवश्यकता पर्छ। तर, जाेताई गरेर यी अवशेषहरूलाई माटोमा मिसाउँदा माटोको उर्वराशक्ति बढ्छ, कार्बनिक पदार्थको मात्रा वृद्धि हुन्छ र रासायनिक उर्वरकहरूको आवश्यकतामा ठूलो कमी आउँछ।
२. च्याउ खेतीमा उपयोग
धानको पराल च्याउ खेतीका लागि सर्वोत्तम सबस्ट्रेट हो। यसको प्रयोग गरेर च्याउ खेती गर्न सकिन्छ र यसबाट अतिरिक्त आम्दानी प्राप्त गर्न सकिन्छ।
३. पशु आहारको रूपमा उपयोग
धानको भूसा पशुहरूका लागि पूरक आहारको रूपमा प्रयोग गर्न सकिन्छ। यसले चारा लागत घटाउँछ र पशुहरूको लागि पोषणको अतिरिक्त स्रोत प्रदान गर्दछ।
४. ऊर्जा उत्पादन
धानको भूसा बायोमास पावर प्लान्टहरूमा विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ। यसले स्वच्छ ऊर्जा प्रदान गर्दछ र जीवाश्म इन्धनको आवश्यकतालाई कम गर्दछ।
५. छापो (मल्चिंग)
धानको पराललाई माटो छोप्न, चिस्यान कायम राख्न र झारको वृद्धि रोक्न प्रयोग गर्न सकिन्छ। यसले जल धारण र माटोको तापक्रम नियन्त्रणमा सुधार ल्याउँछ।
७. मल
पोषकतत्वहरू भरपूर भएकाे मल बनाउन धानको पराललाई अन्य जैविक सामग्रीहरूसँग मिसाएर प्रयोग गर्न सकिन्छ। यसलाई भर्मी कम्पोस्टमा प्रयोग गरेर उच्च गुणस्तरको मल बनाउन सकिन्छ ।
८. जैविक इन्धन उत्पादन
धानको पराललाई जैविक इन्धन जस्तै बायोइथेनल वा बायोग्यासमा परिणत गर्न सकिन्छ। यसले जीवाश्म इन्धनमा निर्भरता घटाउँछ र ग्रीनहाउस ग्यास उत्सर्जन कम गर्न मद्दत पुर्याउँछ।
अतः निष्कर्षमा भन्नू पर्दा धानको परालको उचित व्यवस्थापन दिगो कृषि र वातावरण संरक्षणका लागि महत्त्वपूर्ण छ। माटोको सुधार, पशु आहारको प्रयोग, ऊर्जा उत्पादन, छापो , कम्पोस्टिङ, र बायोमास रूपान्तरण जस्ता विभिन्न तरिकाहरू अपनाएर, हामी कृषि र वातावरणका लागि धेरै लाभ प्राप्त गर्दै धानको परालसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्न सक्छौं। सकारात्मक परिवर्तन ल्याउन किसानहरूबीच जागरूकता बढाउन आवश्यक छ। अन्ततः, धानको परालको कुशल व्यवस्थापन कृषि क्षेत्रको समग्र स्थिरता र वातावरणीय दृष्टिकोणले अति महत्त्वपूर्ण छ।