स्याङ्जा | बहुगुणी भएर पनि बेवास्तामा परेको रैथानेबाली मध्ये काँढे धनियाँ पनि एक हो । काँढे धनियाँ बाह्रै महिना पाइने वनस्पति हो । यो मुख्यगरी मध्य पहाडी क्षेत्रमा पाइने वनस्पतिमा पर्दछ । यो चिस्यान रहिरहने ओसिलो ठाउँमा प्रसस्त हुने गर्दछ । यसलाई अन्य वनस्पतिको डसाइले त्यति असर नगर्ने भएकाले घुसुवाकारुपमा पनि हुने गर्दछ । यसबाट मिश्रितरुपमा पनि लगाउन सकिने देखिन्छ । कृत्रिम र आयातित स्वादको पछि लाग्ने बानीले यस्ता धेरै बहुगुणी रैथाने वनस्पति यसै सडेर गएका छन् । जसका कारण रोग निम्त्याउने र पैसा बाहिर पठाउने काम भैरहेको अनुमान गर्न सकिन्छ ।

काँढे धनियाँलाई मसलाको रुपमा लिइन्छ । त्यसैले काँढे धनियालाई प्राकृतिक मसलावाली भनेर पनि चिनिन्छ । यो खेत वा बारीको कान्लाहरुमा सहजै हुने र पाइने भएकाले कतै कतै कान्ले धनियाँ पनि भन्ने गरिन्छ । मध्य पहाडी क्षेत्रका गाउँ बस्तीहरुमा प्रायजसो तरकारीमा मसलाकारुपमा प्रयोग गरिन्छ । यसका साथै सिलौटामा गोलभेंडासँगै पिंधेर बनाइएको चटनी निकै बास्नादार र स्वादिलो हुन्छ । अरुचि भएका बेलामा काँढे धनियाँको प्रयोगले खाउँ खाउँ लाग्ने बनाउँछ । यसको बास्ना र स्वादका पारखीहरुका लागि माछा मासुमा पनि उत्तिकै उपयोगी मानिन्छ ।

काँढे धनियाँ सधैं पाइने वनस्पति भएता पनि असोज कात्तिक महिना अझ बेसी हुने र फस्टाउने समय हो । पातहरु फेदैदेखि नै ठाडोगरी पलाउने गर्छ । यसको फल भन्दा पनि पातलाई नै खाने गरिन्छ । लामो र हरियो पातको छेउमा मसिना काँडा हुन्छन् । यो फल्नका लागि फूलेका बेलामा तीखा तीखा काँडाहरु आउने भएकाले पनि यसलाई काँढे धनिया भनिएको हुनुपर्छ । चिस्यान पु¥याइएको खण्डमा समथर भू—भागमा पनि लगाउन सकिन्छ । यसलाई कुनै रासायनिक मलको आवस्यकता पर्दैन । प्राङ्गारिक मल वा गोबर मल भए पुग्छ । त्यसो त यसलाई अरु बालीमा जस्तो त्यति धेरै मल नराखे पनि हुन्छ ।

पोषणविद्हरुको भनाई अनुसार काँढे धनियाँ खानामा स्वाद एवम् रुचि बढाउनुकासाथै स्वास्थ्यप्रद मसला बाली हो । यसले मुटुलाई जोगाइराख्न मदत गर्छ । पोषणविदहरुले सामाजिक सञ्जाल फेसबुक र बिभिन्न सञ्चार माध्यम मार्फत यसरी सुझाईएको पाइन्छ । उनिहरुका अनुसार काँढे धनियाँमा क्यालसियम, आइरन,राईबोफ्लेमिन, क्यारोटिन जस्ता तत्वहरु यसमा पाइन्छन् । रुघाखोकी, बान्ता हुने, कब्जियत तथा  पखाला लागेमा यसको सेवन लाभदायक मानिन्छ । मधुमेह, फोक्सोको समस्या वा दम रोगीका लागि पनि यो उपयोगी मानिन्छ ।

यसले गुल्कोजको मात्रा घटाउने , शरीरमा भएका विषाक्त पदार्थ  शुद्धिकरण गर्छ ।

स्नायु सम्बन्धी समस्या, अल्जाइमर, पार्किन्सन रोगको लागि  पनि उत्तिकै फाइदाजनक हुन्छ । यति धेरै लाभदायक हुँदाहुदै पनि काँढे धनियाँ कमै प्रयोग भएको पाइन्छ ।

चटनी तथा तरकारीमा राख्दा मगमग बसाउने र स्वादिलो हुनुकासाथै स्वस्थकर जैविक वनस्पति खेतबारीका कान्ला र खरबारीमा यत्तिकै उम्रिएर फैलिएका हुन्छन् । यतिसम्म कि घाँस काट्दा काँढाले घोच्छ भनेर विन्याएर फालिन्छन् । पछिल्लो समयमा आएर पोखरा र बुटवलका तरकारी बजारहरुमा यदाकदा बिक्रि गर्न थालेको पाइन्छ ।

वालिङ नगरपालिकाको कृषि विकास शाखाका प्रमुख केसबहादुर थापा भन्नुहुन्छ—“काँढे धनिया हाम्रो रैथाने वनस्पति हो । यो मसला बाली अन्तर्गत पर्दछ, तर यसलाई खेतिकोरुपमा गरिएको छैन । वास्तवमा काँढे धनिया वेवास्तामै परेको हामीलाई पनि लागेको छ । बजारमा यदाकदा ल्याइए पनि नियमितता नभएका कारण उपभोक्ताहरुको भान्छामा कहिले काहीं मात्र प्रयोगमा आएको देखिन्छ । यसलाई खेतिकारुपमा गर्ने र अरु साग वा हरियो तरकारी सरह बजारमा उपलव्ध हुने हो भने उपभोक्ताहरु अभ्यस्त हुने देखिन्छ । किनकि कहिले काँही पाउँदा निकै रुचिकासाथ लिएको पाइन्छ । हामीले केही किसानहरुलाई खेतिकारुपमा गर्न सुझाएका छौं, कसैले पनि सुरु गरेका छैनन् । यसको खेति गरेर बजारमा लैजाने हो भने कम परिश्रममा राम्रो आम्दानी लिन सकिने देखिन्छ । यो विशुद्ध रैथाने वनस्पती हो, यसमा कुनै मिसावट छैन । पोषणवीदहरुका अनुसार स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ ।”