परिचय

केरामा लाग्ने पानामा रोगको कारक तत्व ढुसी फुजारियमअक्सिस्पोरियम क्युवेन्सि (Fusarium Oxysporum f.sp. cubense) हो । पानामा विल्ट सन् १८७४ मा अस्ट्रेलियामा पहिलो पटक देखा परेको थियो भने दक्षिण अमेरिकाको पानामा, क्युबा, जमैका, कोस्टारिका लगायतका देशमा केरा खेतीलाई पुर्णतया नष्ट गरेको थियो । यसको ४ ओटा प्रजातिहरु छन् रेस १, रेस २ , रेस ३ र रेस ४ ।
रेस १ पुराना जातहरुको केरा जस्तै ग्रस मिचेल(Gross Michel), मालभोग (Malvog ) जस्ताजातहरुमा लाग्दछ भने नयाँ जातहरु(varieties) जी ९(G9) , विलियम हाइब्रिड(William hybrid), चिनियाँचम्पा(chiniya champa)ले रेस १सहन सक्दछ। रेस २(ब्लुगोए) र ३ (Heliconia spp) जंगली जातको केरामा लाग्दछन् ।१४ वर्ष अघि नेपालमा रेस १ रोग भारतबाट भित्रिएको मानिन्छ।
नेपालमा व्यवसायिक रुपमा खेती गरिने उन्नत जातको साथै सबै अन्य स्थानीय जातको केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ प्रजातिको रोगमा सबट्रोपिकल रेस ४ (एस टि आर ४) पर्दछ । यो रोग पहिलो पटक नेपालमा सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुरमा २०८० साल श्रावण महिनामा देखिएको थियो । जुन केराको लागि सबैभन्दा खतरनाक मानिन्छ । यो रोगले नेपालमा सबै केराका जातहरुलाई पुर्णतया नष्ट गर्न सक्दछ । त्यसैले हामीले बेलामै सजग हुनुपर्ने हुन्छ ।

पानामा रोग सर्न सक्ने माध्यम

  • यो माटोमा बस्ने ढुसी हो त्यसकारण सङ्क्रमित बिरुवा, माटो, पानी , कृषि औजारहरू ,केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएर माटो मार्फत एक ठाउँबाट अर्को ठाउँसम्म सर्ने गर्दछ ।
  • यस्तै ढुसीहरू हरु उच्च वर्षात ,बाढी र सिंचाईको स्रोत वा कुलोबाट सर्न सक्दछन् ।
  • कतै कतै ढुसीलाई घुन जस्ता खपेटा किराहरू जस्तै केराको थाममा लाग्ने घुन र गवारोले पनि सार्न सक्ने देखिएको छ ।

पानामा रोगको लक्षणहरु

  • यो रोग लागेमा शुरुमा पुराना पातको फेद पहेलो हुन्छ । त्यसपछि, पातको किनारा पहेंलिन थाल्छ र पात सुकेर डाँठहरू भाँचिन्छन । यो रोगको डुसीले आक्रमण गरेको ४ देखी ५ महिना पछि विरुवामा लक्ष्ण देखाउदछ।
  • पातको लामिना पहेंलो हुनु सामान्य कुरा हो तर पहेंलो नहुने ओइलाउने लक्षणहरू पनि ज्ञात छन्।
  • थाम ठाडो चिरेर भित्र हेर्दा खैरो रंग गानाबाट टुप्पातिर फैलिएको देखिन्छ ।जराहरू कालो हुन्छन र सड्छन् । राता र खैरा धर्साहरु भित्रपट्टिको भागमा स्पष्ट देखिन्छन् । यि धर्साहरु विस्तारै थामको माथि तिर बढ्न थाल्छन् ।
  • केराको थामहरु फुट्न थाल्छन विरुवा मर्नुभन्दा पहिला जराबाट धेरै नयाँ पालुवाहरु आउन थाल्छन् । रोगको प्रकोप बढि भएको अवस्थामा केरामा फल लाग्दैन/लागे पनि कोसाहरु साना हुन्छन् ।

शुरुमा पुराना पातको फेद पहेलो हुन्छ । त्यसपछि, पातको किनारा पहेंलिन थाल्छ

पात सुकेर डाँठहरू भाँचिन्छन

केराको थामहरु फुट्न थाल्छन

राता र खैरा धर्साहरु भित्रपट्टिको भागमा स्पष्ट देखिन्छन्

रोग व्यवस्थापन

  • रोगमुक्त रोपण सामग्रीको प्रयोग।
  • सङ्क्रमित रोपण सामग्रीको फैलावट रोक्नको लागि कडा क्वारेन्टाइन उपायहरू महत्त्वपूर्ण छन्।
  • प्रतिरोधी केराका प्रजातिहरू विकास गर्नु प्राथमिकतामा छ।
  • 1% सोडियम हाइपोक्लोराइट वा 10% ब्लीचमा उपचार गरेर मात्र अर्को फिल्डमा प्रयोग गर्ने ।
  • नियमित अनुगमन र रोगको प्रारम्भिक पहिचान।
  • रोग लागेका बिरुवाहरूलाई रातो रिबन वा ट्याग प्रयोग गरेर ट्याग गर्नुपर्छ।
  • कार्बेन्डाजिम ५०% WP १-३ ग्राम/लिटर पानी जरा वरिपरि (प्रति बिरुवामा ३-५ लिटर घोल) १५ दिनको अन्तरालमा लक्षण देखिने बित्तिकै ५ पटक प्रयोग गर्नुपर्छ।
  • रोग सङ्क्रमीत बगैचाँ वाट अन्य बगैचाँमा पानी बग्न दिनु हुदैन।
  • थोपा सिंचाई प्रविधि अवलम्बन गर्नु उपयुक्त हुन्छ ।
  • रोग लागेको बारीमा प्रयोग गरेको औजारहरु निर्मलीकरण गरेर मात्र पुन प्रयोग गर्ने ।
  • एउटैजग्गामा ३ वर्षभन्दा बढी केरा खेती गर्नु हुँदैन् । बाली चक्र अपनाउने ।