सानैदेखि चञ्चले र जिज्ञासु, मेरो हुर्काई सदरमुकाममा भयो। गाउँले परिवेशमा नहुर्किए पनि सदरमुकाम लगभग गाउँ जस्तै थियो, फरक यति हो कि सदरमुकाममा मोटर बाटो र बजार नजिकै हुन्थ्यो भने गाउँमा अलि टाढा। बुबाले मलाई भन्नुभयो, बाबु म दुई महिना नहुँदै हाम्रो परिवारमा अत्यन्तै दुःख घटना घटेछ, मेरो बुबाको आगोलागिमा परि मृत्यु भएछ।सायद, बुबालाई हजुरआमाले सुनाउनुभयो होला। खै निम्न परिवार भनौँ कि,मध्यम भनौ कि, सम्पन्न नै,मेरा हरेक आवश्यकताहरू जस्तोसुकै समस्या परेपनि सहजै उपलब्ध गराइदिनु हुन्थ्यो भने, बुबाआमाको एक दिन काम रोकियो भने बिहान बेलुकाको छाक टार्न समेत धौधौ पर्थ्यो। त्यसैले म एउटा व्यक्तिको लागि त मेरो परिवार धेरै सम्पन्न ठान्छु।

मेरो जीवनको पहिलो मास्टर बुबाआमा हो। सुनिन्छ विभिन्न प्रवचन, ज्ञान, मोटिभेसन स्पिच लिन/सुन्न मान्छेहरु विभिन्न ठाउँ धाइरहेका हुन्छन् तर, यी सबैका भण्डार मेरो घर नै हो।सानै उमेरबाट मलाई मेरो परिवारले जीवन के हो सिकाउँदै आएको जस्तो लाग्छ।मेरो हजुरआमा कलिलै उमेरमा विधुवा भएर होला उहाँको सोच र व्यवहार अल्लि भिन्नै किसिमको थियो तर आँट र मेहनत गर्न चाहिँ कहिलेपछि हट्नु हुँदैन थियो।म मा जिद्वीपन र घमण्डीपन माइनसमा थिए। मैले मेरा परिवारमा कहिले पनि पैसाको कुरा भएको थाहा पाईन,पैसा प्रशस्त भएर पनि होइन, मेरो परिवार खाली इमान्दार र मिहेनतको पछि दौडिरहेको थियो। सायद, मैले पनि यही सिको गरे होला।

स्कुलमा सर/म्यामले तिम्रो भविष्यको लक्ष्य/योजनामा विचार लेख्न दिँदा न मैले डाक्टर लेख्थे,न त पाइलट, इन्जिनियर नै। कापीमा लेख्दा मैले असल र इमान्दार नागरिक लेख्थे तर, मेरो मन र मस्तिष्कमा आफूले खाने बिहान र बेलुकाको खाना झल्किरहन्थ्यो र मन मनै वाचन गर्थे कृषि पढ्ने। अङ्ग्रेजीमा लेख्नुपर्ने हुँदा सबै साथीहरुले डाक्टर, पाइलट, इन्जिनियर लेख्थे, म भने पहिला उनीहरूको हेर्थे, उही त हो नि बच्चो मानसिकता साथीले किसान बन्छस् भनेर जिस्काउने हुन् कि भनेर लाजले होला कृषि पढ्छु भनेर लेख्न सक्दैन थिए तर कृषि पढ्ने झड्का मलाई त्यतिखेर नै अकस्मात रूपमा परिसकेको थियो।

समय बित्दै गयो, उत्कृष्ट अङ्कमा १० पास भए जुन पहिलाको एसएलसी(SLC)लाई हाम्रो पालामा एसइइ(SEE) भन्थे।प्लस टु(+2) पनि आफ्नै ठाउँमा बसेर विज्ञान विषय लिई उत्तीर्ण भए।+2 पास भइसकेपछि मलाई के पढ्ने भनेर दोधार भएन किनभने मलाई स्कुल पढ्दैमा कृषि विषयले झड्का दिइसकेको थियो। यति हो कि यसको लागि तयारी कहाँ गर्ने भन्ने विषयले पिरोलिरहेको थियो। कृषि विषय पढ्न Entrance Exam Crack गर्नु पर्थ्यो।त्यसैले म आफ्नो ठाउँबाट चितवन/काठमाडौँ अन्त कतै जानै पर्थ्यो। त्यसपछि म चितवन जाने निधो गरे, म सानो हुँदा गएको थिएँ र अत्याधिक हाम्रो परिवारमा चर्चा हुने घर, हजुरबुबाको बहिनीको घरमा गएर बसे। अत्यन्तै शालिन, भद्र र निस्वार्थ, परिवारसँग म घुलमिल हुन थाले।अङ्कलको दुई छोराहरू थिए, म थपिए हामी तीन भाइ मिलेर बस्यौ।जुन छोराछोरीको लागि एउटा बुबाआमाले आफ्नो कर्तव्य निभाउँछन्,हो त्यसैगरी मलाई अंकल-आन्टीले कुनै कुराको अभाव हुन दिनुभएन।यस परिवारको एउटा मात्र स्वार्थ भनेको बाबु तिमीले गर्न सक्छौ, नाम निकाल्छु भनेर अघि बढ बाँकी अरु हामी तिम्रो साथमा छौँ। यी शब्दहरुले म अझ प्रेरित भएको ठान्दथे।

भोलिपल्ट बिहान सबेरै उठे, सिमसिम पानी परिरहेको थियो, परिवारको सदस्य सबैबाट आशीर्वाद लिए अनि जाँच दिन राजधानी तर्फ लागे। जाँच दिएर म त्यसै घर फर्किए। रिजल्ट राति नै आइसकेको रहेछ। मैले बिहान थाहा पाए र ठूलो स्वरमा अङ्कल म पास भए, आन्टी म पास भए, दिदी,भिनाजु म पास भए भन्दै चिच्याए। त्यसपछि परिवारका सबै सदस्यको आँखा खुसीले रसाए र मेरो कृषिमा भविष्य निर्धारण गर्ने दोस्रो घर त्यही भयो। अहिले म लमजुङ स्थित नेपाली सेना कृषि विज्ञान संस्थान मा कृषि विषय अध्ययन गर्दैछु।