बीउ बिजनको गुणस्तर कायम राख्न विभिन्न तवरबाट खुलेको बीउ बिजन परिक्षण प्रयोगशालाहरुले गर्दै आएको उमारशक्ति , शुद्दता , चिस्यान , स्वस्थ, तौल निर्धारण , ओजस , जिवितपना, लगायतका परीक्षणहरुमा एकरुपता कायम राखी देशैभर गुणस्तर बीउको आपूर्ति सुनिश्चित गर्न गरिने परिक्षण नै बीउको नियमित परिक्षण हो ।
बीउको नियमित परिक्षण अन्तर्गत बीउको शुद्दता विश्लेषण , उमारशक्ति परिक्षण, चिस्यान परिक्षण , ओजस परिक्षण, आदि पर्छन् । बीउको नियमित परिक्षण अगावै विभिन्न बिउ कम्पनि वा किसान द्वारा आएको नमुना दर्ता गर्न र त्यसको कार्य नमुना बनाउन आवश्यक पर्दछ।
बीउ बिजन नमुना दर्ता तथा कार्य नमुना तयारी
बीउ बिजनको नमुना दर्ता, प्रयोगशालाको दर्ता एकाइ द्वारा गरिन्छ । प्रयोगशाला भएको नमुना हेरी परिक्षणको किसिम अनुसार नमुना राखिएको भाडो वा थैलोको प्रकृति, नमुनाको तौल, थैलोको अवस्था,आदि नियम अनुसार पुर्णरुपमा जाँच गरी नमुना फारममा दर्ता गर्नु आवश्यक पर्दछ । नमुना दर्ता गर्ने क्रममा प्रयोगशाला परिक्षण नम्बर, नमुना पठाएको तथा प्राप्त गरेको मिति, नमुना पठाउने व्यक्ति वा निकाएको नाम, ठेगाना , बालीको नाम, जात , मिति , परिमाण , उत्पादन वर्ष, लट नम्बर, नमुनाको तौल आदि, नमुनाको विवरण खुलाई दर्ता गर्नु पर्दछ । यदि प्रयोगशालामा पठाएको र नमुना लिएको समय अन्तर बढि भए ,नमुनाको तौल आवश्यकता भन्दा कम भएमा, यस्ता नमुना कैफियत जनाई सम्बन्धित व्यक्ति वा निकायलाई फिर्ता पठाइदिनु पर्दछ।
बीउको शुद्दता परीक्षण
नमुना बीउ पठाउने निकायले उल्लेख गरेको प्रजाति जुन परिक्षण बढी मात्रामा पाइन्छ, त्यसलाई शुद्द बीउ भनिन्छ। अपरिपक्क बीउ, चिम्रा बीउ , स्याप्रा बीउ, रोगि बीउ ( तर सम्पूर्ण भाग ढुसिमा परिणत नभएको), किराले खाएको तर बीउको आधाभन्दा कम नोक्सानी गरेको बीउ पनि शुद्द बीउमा पर्दछ । बीउको शुद्दता परिक्षण गर्दा जहिले पनि ISTAको मान्यता अनुसार गर्नु आवस्यक रहन्छ ।
धानको शुद्द बिउको परिभाषा दिदा बाहिरी बोक्रा तथा सग्लो झुस भएको, यदि टुक्रा भएपनि चमालको बास्तविक आवरण आधा भन्दा धेरै भएको बीउलाई शुद्द बीउ भनिन्छ । दलहन बालीमा सुरक्षात्मक आवरण भएको, पुर्ण रुपमा बिजदल जोडिएको, लहरे बालीमा तथा भिंडीको बीउमा सुरक्षात्मक आवरण भएको वा बीउ फुटेको भएपनि बीउको टुक्रा बास्तविक बीउको आकार आधाभन्दा बढि भएको आदि हुनुपर्दछ । यसरी कुनैपनि बाली बीउको शुद्दता परिक्षण गर्दा शुद्द बीउ, अन्य बालीको बीउ , निष्क्रिय पदार्थ, झारपातको बीउ उल्लेख गरी तिनीहरुको तौल लिन पनि आवश्यकता पर्दछ । निष्क्रिय पदार्थ अन्तर्गत बिजदल अलग भएको कोशेबाली, आधा भन्दा कम टुक्रा भएको बीउ, क्यर्रियोप्सिस नभएको वा बीउ नभएको खोस्टा वा झुस, माटो, ढुंगा, पात, फुल, बोक्रा, आदि पर्छन्। यसरी शुद्द बीउ , अन्य बालीको बीउ, निष्क्रिय पदार्थ , झारपातको बीउको तौल लिगीसकेपछि उक्त तौल अनुरुप हरेकलाई प्रतिशतमा परिणत गरी एनालिसिस कार्डमा खुलाउन आवश्यक पर्दछ।
बीउको उमारशक्ति परिक्षण
सामान्यतय कुनै पनि बीउलाई आवश्यक पर्ने प्रकाश, चिस्यान, तापक्रम, दिई लगाउदा विकास भइ पुर्ण बेर्नामा परिणत हुन सक्ने क्षमतालाइ नै उमारशक्ति भनिन्छ। उमारशक्तिको प्रमुख उद्देश्य बीउ छर्नु वा रोप्नु अगाडीनै बीउको गुणस्तर वा बीउको उम्रन सक्ने क्षमता अनुसरण गर्नु हो । बीउको उमारशक्ति परिक्षण गर्दा नमुना बीउको भागबाट कुनैपनि भेदभाव नगरी कम्तिमा ४०० दाना शुद्द बीउ १००/१०० दानाको दरले ४ रेप्लिकेशन , ५० दानाको ८ रेप्लिकेशन , २५ दानाको दर भए १६ रेप्लिकेशनमा उमारशक्ति परिक्षणको लागि राख्ने गरिन्छ। उमारशक्ति परिक्षणका लागि उपकरणहरुमा जर्मिनेशन पेपर, बालुवा , फिल्टर पेपर , बीउ गणना गर्ने उपकरण, जर्मिनेटर आदि पर्दछन्।
उमारशक्ति परिक्षण का माध्यम अनुसार कागजमाथि राखी अंकुराउने तरिका, जसमा फिल्टर व ब्लोटिंग पेपरलाइ काट्ने र पेट्रीडिसमा भिजाई चार ओटा पेट्रीडिसमा १०० वटा बीउ राख्ने गरिन्छ , त्यसका साथै पेट्रीडिस बाहिर परिक्षण नम्बर , रेप्लिकेशन नम्बर, परिक्षण मिति आदि प्रस्ट रुपमा सिसाकलम ले उल्लेख गरिन्छ। अर्को माध्यम जसलाई दुइ कागजको बिचमा राखेर परिक्षण गरिन्छ , त्यसका साथसाथै उमारशक्ति परिक्षण माटोमा पनि गर्न सकिन्छ l यसरी राखेका बीउ पछि बेर्नामा परिणत हुदा, उक्त बेर्नाको मुल्यांकन गर्न पनि आवश्यक रहन्छ l जसअनुसार बेर्नाको बर्गीकरण गर्दा पुर्ण बेर्ना अर्थात् बाली अनुसारको संरचना पुर्ण भएको, प्रसस्त मसिनो रौहरुले ढाकेको तथा जराको टुप्पो राम्रो भएको , सिधा र राम्रो इपिकोटाइल भएको , दलहन बालीमा बिजदल भएको । असामान्य बेर्ना पनि बर्गिकरण गर्न आवस्यक रहन्छ जस्तै अंगहरु पुर्ण नभएको , टुटफुट भएको बेर्ना , दुइ वा दुई भन्दा ज्यादा बेर्नाहरु आपसमा गासिएका छन् भने पनि त्यस्ता बेर्नालाई असामान्यमा बर्गिकरण गरिन्छ l त्यस्तै अरु हुन्छ कडा बीउ , मृत बीउ। कडा बीउ अनुसार बाहिरी आवरण कडा भइ पानी सोस्न नसकी उम्रन नसकेको बीउ , सामान्यतय यो दलहन परिवारका प्रजातिमा देख्ने गरिन्छ । स्वच्छ बीउ अन्तर्गत बीउहरुले पानी सोसे पनी नउम्रिएको तर सफा र ताजा देखिने, यस्ता बीउले सामान्य बेर्ना दिन सक्ने अनुमान गरिन्छ। मृत बीउ अन्तर्गत रंग बिग्रिएको, औलाले थिच्दा बाक्लो सेतो दुध जस्तो लेदो निस्किने, यस्तो बीउलाई मृत बीउमा बर्गिकरण गरिन्छ । यसरी हरेक बीउको बर्गिकरण गरेपछि त्यसलाई प्रतिशतमा परिणत गरी बीउको उमारशक्ति परिक्षण गर्न सकिन्छ।
बीउको चिस्यान परीक्षण
बीउमा भएको पानीको मात्रालाई बीउको चिस्यान भनिन्छ। बीउको चिस्यान अनुसरण गरी बीउको गुणस्तर निर्धारण र नियन्त्रण गर्न सहज पुग्दछ। चिस्यान परिक्षण गर्ने उपकरण अन्तर्गत मोइस्चर मीटर अर्को हुन्छ ओभन। ISTA ले सिफारिस गरेको आधिकारिक बिधि चाहि ओभन मानिन्छ। यस विधिको आधारभूत सिद्धान्तमा जोखिएको नमुनालाइ तताएर बीउबाट बढी भन्दा बढी चिस्यान उडाइन्छ र बीउ तताउदा पानी बाहेक अन्य तेलीय पदार्थ नोक्शान भएको छैन भन्ने विश्वासमा सुक्खा पदार्थ जोखिन्छ र हिसाब गरी चिस्यान प्रतिशत निकालिन्छ। चिस्यान परिक्षण उपकरण अन्तर्गत तराजु,ग्रीन्डर, विभिन्न आकारका जाली, नमुना राख्ने भाडो, डेसिकेटर र ओभन (बिजुलीको चुल्हो १५० डि . से )सम्म तापक्रम दिने हुनु पर्दछ। ओभनमा बीउ सुकाउनको लागि आवश्यक तापक्रम र समय ISTA को नियम अनुसार हुनु पर्दछ। जसमा प्रकृति अनुसार १३०-१३३ °c तापक्रममा १ घण्टा, २ घण्टा, ४ घण्टा ,सम्म बीउलाई सुकाउन सकिन्छ। सर्बप्रथम प्राप्त नमुनालाई ग्रिनडरमा पिसेर ओभनलाइ आवश्यक तापक्रममा मिलाई संचालनमा ल्याउन पर्दछ। एउटा नमुनाको दुइ ओटा रेप्लिकेसन राख्नुपर्दछ । यसरीतताएको नमुना चिस्यान उडेपछि जोखि र पूर्व नमुनाको तौल संग तुलना गरी चिस्यानलाइ प्रतिशतमा निकाली त्यसको विश्लेषण गर्न सकिन्छ ।
सामान्यतय नियमित परिक्षणमा चिस्यान , शुद्दता र उमारशक्ति परिक्षण गरिन्छ यसका साथ साथै ओजस, जीविततापन पनि परिक्षण गर्दै आएको पाइन्छ। बीउको नियमित परिक्षण गर्दा बिउको गुणस्तर, थाहा पाउनु का साथै किसानवर्ग हरुलाइ पनि बीउको छनोट गर्न सजिलो पुर्याउछ । र देशभरमै बीउको गुणस्तरकायम राख्न पनि ठुलो योगदान पुर्याउछ ।