ललितपुर। काठमाडौँको भृकुटीमण्डपमा  आज (विहिबार) देखि २५ औं अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सुरू भएको छ । “स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ चैत १ देखि ४ गतेसम्म संचालन हुने एक्स्पोको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गरेका हुन्।

एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहेका छन्।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा राखिएको छ ।

एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने आयोजक पक्षको अपेक्षा छ । त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको आयोजकले जनाएको छ ।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।