ललितपुर। कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ हुने भएको छ।

भृकुटीमण्डपमा माघ १२ गतेदेखि १४ गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने आयोजक मिडिया स्पेश सोलुसनले जनाएको छ।

प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले माघ १२ गते उद्घाटन गर्नेछन्।

प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ कृषि कम्पनी, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघको सहयोग रहने छ ।

प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकको भनाइ छ।

देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास आयोजकले लिएको छ।

प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आएका कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ।