जलश्रोत सम्पदाको कुरा गर्दा नेपाल विश्वमा दोश्रो श्रेणीमा पर्दछ । तर जलश्रोत सम्पदाको उपयोगको हिसाबले भन्ने हो भने निराशाजनक देखिन्छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला विकास सुचकाङ्कको हिसाबले अविकसित जिल्लाहरुमध्ये चौथो श्रेणीमा पर्दछ । देश संघियतामा जानु अघिसम्म सरकारको नियमित रुपमा जिल्लाहरुमा निकासा हुने रकमको हिसाबले भन्ने हो भने यो जिल्ला पाँचौं श्रेणीमा पर्दथ्यो (रु. ११७० प्रति व्यक्ति प्रति वर्ष) । यति ठूलो रकम जिल्लामा भित्रंदा पनि विकासको हिसावले अविकसित जिल्लाहरुमध्ये चौथो श्रेणीमा पर्नुको विडम्बना के हो सबैले सोंच्नुपर्ने विषय छ ।

जिल्लाको कुल जनसंखयाको ९३% जनताहरु कृषिमा निर्भर छन भनिएको छ तर अधिकांश घर परिवारलाई वर्षको ६ महिना पनि खान पुग्दैन । कृषि उत्पादनको हिसाबले हुम्ला जिल्ला कम उत्पादन हुने जिल्ला मध्येक तेश्रो श्रेणीमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफलमध्ये ०.८६% जिमन मात्र खेति योग्य जनिम छ । हुम्ला जिल्लालाई हिमाली जिल्ला भनेर चिनिन्छ ।

हुम्ला जिल्लामा हुम्ला कर्णाली नदि सहित अनगिन्ति खोलानालाहरु छन् तर तिनीहरुले एकाध बाहेक सुख्खा पाखा सिंचाई गर्दैनन् ।सिंचाई आँफै त हुँदैन मान्छेले ब्यवस्थित गर्नु पर्यो नी ।

हुम्लाका जनता कृषिमा निर्भर छन्, तर नब्बे प्रतिशत भन्दा बढीलाई वर्षमा तीन महिना पनि खान पुग्ने अनाज उत्पादन हुँदैन । कृषि उत्पादनको हिसाबले यो जिल्ला कम उत्पादन हुने जिल्लाहरू मध्ये तेश्रोमा पर्छ । खेती गर्नका लागि योग्य जमिन नै छैन । खेतीपातीका लागि अयोग्य भूभागको हिसाबले यो जिल्ला तेश्रो श्रेणीमा पर्छ । यो जिल्लाको कुल भूभागको झण्डै ९२% क्षेत्र ३०º डिग्री भन्दा बढी भिरालो छ । ३०º डिग्री भन्दा बढी भिरालो जमिनमा फलफूल बाहेक अरू खेती गर्नु हुन्न किनभने भिरालो जमिनको माटो खोस्रे पछि सबै बगेर जान्छ ।त्यसैले त्यस्तो खालको भुबनौ भएको ठाउँमा फलफूल खेती बाहेक अरु उपयुक्त हुँदैन । फलफूल खेती गर्यो भने माटोलाई धेरै खनजोत गर्नु पर्दैन

हुम्ला जिल्लामा सिंचाई आयोजनाहरूको हिसाब गर्ने हो भने साना ठूला गरि पचास वटा भन्दा बढी आयोजनाहरू संचालन भै सकेको देखिन्छ । तर सिंचाई भएको जमिन हेर्ने हो भने पाँच प्रतिशत मात्रै छ । अर्को विडम्वना के छ भने किसानहरूले आफ्नै क्षमताबाट निर्माण गरेका सिंचाई योजना जमाना देखि मज्जाले चलिरहेछन्, तर सरकारी र गैरसरकारी निकायबाट संचालित आयोजनाहरू गतिलोसंग चलेका छैनन् ।दार्माको तामे कुलो हजारौं वर्ष पुरानो हो, जसलाई जनताहरूले आँफैले व्यवस्थित रूपले संचालन गरिरहेका छन् तर जिल्लाको बीचैबाट कर्णाली नदी अविरल रूपमा बगिरहेको छ, तर हामीहरु हेरेका हेर्यै छौं । कर्णाली नदि मात्रै हैन, यसका अनगिन्ति सहायक खोलानालाहरू गल्फागाड, नेरागाड, कवारी खोला, करण खोला, गुरगुरे खोला, खोल्कि खोला, लिमी खोला, चौगनफाया खोला, लुड्पे खोला, चुवा खोला, रोडिकोट खोला, टाके खोला, मिमी खोला, टाङ्ग्री खोला यहाँका सुख्खाग्रस्त पाखाहरूलाई जिस्क्याउँदै कर्णालीमा मिसिएर बंगालको खाडी भेट्न कुदिरहेका छन् । यी खोलानालाहरू र सुख्खाग्रस्त पाखाहरूलाई एक तमासे बनेर रमिता हेरेर बस्नु बाहेक अर्को उपाय देखिएको छेन । बरु पहिला पहिला हाम्रा बाउबाजेहरूले यी खोलानालाहरूको पानी थुनेर अलिअलि भने पनि खेती गरेका थिए । गाउँमा सरकारको अनुदान आउन थालेपछि त जनताले परिश्रम गर्ने छोडे अनि अलिअलि गरेको खेती पनि गर्न छोडियो । जनताले अझ बढी परिश्रम गरून्, त्यसबाट बढी प्रतिफल लिउन् भनेर सरकारले अनुदान पठाउन थालेको हो तर पछिल्लो समयमा अनुदान भएन भने कामै नगर्ने प्रवृत्ति बढेको छ ।

हुम्ला जिल्लामा भैरहेको खाद्यान्न विक्रि अनुदानले परनिर्भरता बढाएको ज्वलन्त उदाहरण हो । सरकारले वि सं २०३२ साल देखि वर्षेनी करोडौं रुपैंया ढुवानी अनुदान दिएर जिल्लाको सदरमुकाममा खाद्य संस्थान मार्फत खाद्यान्न विक्रि गरिरहेको छ । यसले जिल्लाका जनताहरूको खाद्य संस्थान प्रतिको निर्भरता झनै बढायो । एकातिर सरकारले खाद्यान्न ढुवानी गराएर पर निर्भरता बढायो भने अर्कातिर जिल्लामा रहेका कुकुरफाल्ना, कालागाड, खार्पूनाथ, मैला, माझकोट, पालचौर, मारगोर, मकै जस्ता ठूलाठूला सुख्खाग्रस्त पाखाहरू सुख्कागर्स्त नै रहिरहे । जिल्लाको विभिन्न ठाउँहरूमा सिंचाईका थुप्रै संभावनाहरू हुँदाहुँदै यस तर्फ कसैको पनि चासो पुगेको छैन । सिंचाईकै लागि थुप्रै संघसंस्था खोलिएका छन्, लाखौं, करोडौं खर्च भईसकेको छ तर खोलानालाहरु टुलुटुलु हेहर बसिरहनु पर्ने अवस्था छ ।  सुख्खाग्रस्त पाखाहरूमा सिंचाई सुबिधा छैन अलिअलि खेती हुने ठाउँमा पनि आकासे पानीको भरमा खेती गर्नुपर्छ । हुम्ला जिल्लामा सरकारी निकाय सिंचाई कार्यालय पनि छैन । जुम्लामा रहेको कार्यालयले वर्षमा मुश्किलले दुई, तीनवटा आयोजनाहरू संचालन गर्छ, तर सबै आयोजनाहरू संचालनमा नआउँदै सम्पन्न हुन्छन् ।सिंचाई आयोजनाहरू आवश्यकता र प्राविधिक दृष्टिकोणले भन्दा पनि राजनैतिक उद्येश्यले प्रेरित हुन्छन् । त्यसैले ती आयोजनाहरू कहिल्यै सम्पन्न हुँदैनन् । हुम्ला जिल्लाको खार्पुनाथ सिंचाई आयोजना देशकै सबैभन्दा ठूलो स्प्रिङ्कल सिंचाई आयोजना हो । उक्त आयोजनाको लागि २० वर्ष अघि झण्डै पचासी लाख रूपैयाँ खर्च भयो । यति ठूलो रकम खर्चेर सम्पन्न भयो भनिएको आयोजनाबाट सिंचाई सुविधा भन्दा पनि कुटानी पिसानीका लागि घट्ट मात्रै संचालन भयो ।

एक पटक सिंचाई कार्यालयले कुकुरफाल्ना-कालागाड सिंचाई आयोजनाको लागि चौंतिस लाख रूपैयाँ खर्च गर्यो, तर पानी चलेन । लिम्ले-सिमज्युला सिंचाई आयोजनामा बीस लाख रूपैयाँ खर्च गर्यो, त्यहाँ पनि पानी चलेन । यी आयोजनाहरू मात्र हैन, सरकारबाट संचालन हुने हरेक सिंचाई आयोजनाहरूको समस्या एउटै छ, कुलो खन्दै माथि तिर गयो, तल तिर पुरिंदै गयो । हिंड्दैछ, पाईला मेट्दैछ भने जस्तै । आयोजनाहरू कहिले चालु हुन्छन्, कहिले सम्पन्न हुन्छन्, कहिले देखि जनताहरूले फाईदा लिन शुरू गर्छन्, न जनताहरू भन्न सक्छन्, न त्यसमा कार्यरत कर्मचारीहरू भन्न सक्छन् ।जिल्लामा कतिवटा आयोजनाहरू सम्पन्न भए, कतिवटा संचालनमा छन्, हाल कतिवटा चालु अवस्थामा छन्, कतिवटा असफल भए, कतिवटामा संभावना छ, त्यसको तथ्याङ्क कहिं कतै भेटिंदैन । अर्को विडम्वना के छ भने प्राविधिकले नेतालाई दोष दिन्छ, नेताले प्राविधिकलाई दोष दिन्छ । जनताहरू दुबैलाई दोष दिन्छन्

जहाँ गाह्रो, त्यहिं साह्रो भने झैं छ । जिल्लाको यारी देखि कवारीसम्म, नारा देखि चंखेलीसम्म अनगिन्ति खोलानालाहरू अविरल रूपमा बगिरहेका छन् । पहिले पहिले जनताहरूमा स्वावलम्बि भावना थियो, आफ्नो क्षमता र बलबुताले भ्याउने ठाउँहरूमा कुलो बनाएर सुख्खाग्रस्त पाखाहरूलाई पंहेलपूर धान झुल्ने फाँटहरूमा बदल्थे । तर अहिले जमाना बदलियो । जनतामा आफ्ना लागि आँफैले काम गर्नुपर्छ भन्ने भावना हराएर गयो । पहिला यहाँका मान्छे धेरै परिश्रमी थिए । राज्यको उदासिनताका कारणले यो क्षेत्र, यहाँका बासिन्दा पछि परे ।

पहिले यहाँका मान्छेले गरेको परिश्रम हेर्ने हो भने आश्चर्यजनक लाग्छ ।यो ठाउँका बासिन्दाको हिम्मतको चर्चा गर्ने हो भने तामे कुलोको नाम लिनै पर्छ । यो जिल्लाको तामे कुलो सबैका लागि उदाहरणिय छ । जिल्ला सदरमुकामबाट झण्डै पन्चानब्बे कि मी पूर्वमा रहेको तामे दह सिंचाईका साथै धार्मिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । तामे दह चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई हँसियाको बिंड भने जस्तै छ । तामे दहको सहायक मुहान डोब खोला हो । डोब खोला वर्षा याममा मात्र चल्छ, हिउँदमा सुख्खा हुन्छ । त्यसैले तामे कुलो पनि हिउँदमा भन्दा वर्षायाममा राम्ररी चल्छ । कुलोको लागि तामे दह भन्दा दुई सय मीटर जति तल बाँध बाँधेको छ । बाँध भन्दा तल ढुङ्गाका अंतरकुन्तर र ढाँडहरूमा माटो कोचेर, पहिरो जाने ठाउँहरूमा काठका पँदालाहरू हालेर कुलो चलाईएको छ । ठाउँ ठाउँमा बीस – पच्चिस हात लामो पच्चिस – तीस वटा काठका पँदालाहरू जोडेर पानी चलाउनु भनेको ठट्टाको कुरा छैन । कुलोमा लगाएका काठका पँदालाहरू डढेलोले जल्ने, भत्किने, ढाँडबाट पानी चुहिएर जाने समस्या छ ।

तामे कुलोको लम्बाई झण्डै एघार किलो मीटर छ । कुलोलाई दार्मा र मिमी गाउँको शिरानमा रहेको बजेलीखाडामा दुई भागमा बाँडिएको छ । अहिले ठाडे र सियाले अहटबाट सिंचाई हुन्छ ।बजेलीखाडा अनि अहट भनेको हुम्ली भाषामा ठूलो गहिरो परेको फराकिलो चौरलाई खाडा भनिन्छ । बजेली भनेको ठाउँको नाम हो । अहट भनेको हाँगा छुट्टिएर गएको कुलो हो । त्यहाँबाट बाँडिएको दुईटा अहटले दार्मा र मिमीको सिंचाई हुन्छ । शुरूमा बजेलीखाडामा आउने लडेखाला मूल र शिरान मूलको पानी एकै ठाउँमा मिसाएर सिंचाई गरिन्थ्यो । पछि त्यसको पानीले नपुगेर तामे दहको पानी मिसाईयो । पुर्खाले आर्जेकोले अहिले दुई दुईवटा गाउँका जीउलाहरूमा धान फल्छ । हुम्ली भाषामा खेतलाई जीउला भनिन्छ । ठाडे अहट भनेको ठाडो कुलो र शियाले अहट भनेको वर्षै भरी पानी चलि रहने तेर्सो कुलो हो । तामे कुलोको ठाडे अहटमा पन्ध्र वटा र शियाले अहटमा पच्चिस वटा घट्टहरू मजाले चलेका छन् । चैत, बैशाख, जेठ र असार गरि वर्षमा चार महिना पानी अपुग हुने भएकोले घट्ट चल्दैनन् । वर्षमा आठ महिना मात्रै चल्छन् । चार महिना गाउँका छोट्टी, बैकिनीहरूलाई त हैरानै हुन्छ । हुम्ली भाषामा बिहे नभएका केटीहरूलाई छोट्टी र बिहे भएका महिलाहरुलाई बैकिनी भनिन्छ ।

यो अहट कहिले देखि संचालनमा आएको हो भन्ने कसैलाई यकिन छैन । कसैले बाईसै चौबिसै राज्य हुँदाका पाला बनेको भन्छन् भने कसैले भारतको चित्तलगढबाट ठकुरीहरू आएर बसोबास गर्दा देखि नै बनेको भन्छन् । बाईसै चौबिसै राज्य हुँदाका पाला जिम्माल मुखिया भनेका विक्रम शाही, धन शाही, गोर शाही थिए रे । तिनीहरूकै ईशारामा कुलो बनेको भन्ने सुनिन्छ । यसको ईतिहास लेखिएको छैन । यो हजारौं वर्ष पुरानो कुलो गाउँलेको साहस र हिम्मतले आज सम्म चलेकै छ । फलामका औजारहरू पाउन अहिले त मुश्किल पर्ने यो ठाउँमा त्यसबेला यति ठूलो कुलो कसरी बनाए होलान्,  कसरी सर्भे, डिजाईन, ईष्टिमेट, लेआउट गरे होलान अचम्म छ ।

हजारौं वर्ष देखि चल्दै आएको यो कुलोको व्यवस्थापन पक्ष पनि अरुहरूले सिक्न योग्य छ । हरेक वर्ष दुबै गाउँका बासिन्दाहरू बैशाख र जेठ महिनाको पहिलो साता प्रत्येक घरका एक एक जनाका दरले कुलाँ जानै पर्छ ।कुलाँ जाने भनेको कुलोको सरसफाई, मर्मत संभार गर्न जाने भनेको हो ।गाउँलेलाई थाहा दिन डाँको हाल्ने, दमाईले बाजा बजाउँदै गाउँ गाउँ डुलेर फलाको हाल्ने गरिन्छ । अहिले मोबाईल फोनको जमाना भएकोले डाँको हाल्ने, दमाईले बाजा बजाउँदै गाउँ गाउँ डुलेर फलाको हाल्ने चलन भने घटेको छ । गाउँलेहरूले आ-आफ्नो सामल तुमल पोको पारेर भनेको दिन अघि अघि बाजा बजाउँदै पछि पछि नाच्दै, गीत गाउँदै औजार, भाँडाकुँडा, पीठो, चामल बोकेर बाटो लाग्छन् । पहिलो दिन रिमी गाउँको माथिल्लो चौरमा बास हुन्छ । कुलाँ जाँदा आ-आफ्नो गाउँका छुट्टाछुट्टै टोली बनाएर बस्ने चलन छ । टोलीमा सानो उमेरका व्यक्तिहरूले पानी ल्याउने, दाउरा बटुल्ने, खाना पकाउने, भाँडा सफा गर्ने काम गर्छन् भने बलिया तरूनी, तन्नरीहरूले औजारको बिंड बनाउने, सामान ओसार्ने काम गर्छन् । कुलोको पानीले मिमीको ब्याँफू, ऐडिबाडा, कालाभिड, रोकायाबाडा र माठाबाडामा सिंचाई हुन्छ भने दार्माको गर्खा, देबकोटाबाडा, भिडगाउँ, भट्टेबाडा र रिमी गाउँ सिंचाई हुन्छ । ब्याँफू, ऐडिबाडा र कालाभिड उँचाईमा पर्ने हुनाले जेठ तिरै रोपि सक्नुपर्छ भने अन्यत्र साउनको दोश्रो साता सम्म रोपे हुन्छ ।रोपाईंको सिलसिलामा देउडा गाउने चलन पनि छ ।

भोलीपल्ट बिहान को आयो, को आएन हाजिरी हुन्छ र नआउनेलाई के कस्तो जरिवाना गर्ने भन्ने निर्णय त्यहिं हुन्छ । त्यहाँबाट कुलो सफा गर्दै मर्मत गर्दै माथि तिर लाग्छन् र डोब भन्ने ठाउँमा बास बस्छन् । गाउँलेहरूले डोब सम्म गाई भैंसीको गोठ लैजाने चलन छ । त्यहाँ प्रशस्त दूध, दहि, मोहि खान पाईन्छ । त्यहाँबाट माथि काम गर्दै गएर बेलुका त्यहिं बास बस्न फर्कने चलन छ । त्यहाँ कुलोको रेखदेख र मर्मर संभारका लागि कुल्यारा छानिन्छ । कुल्यारा कसलाई छान्ने भन्ने निर्णय गर्दा बढी सकृय र खान नपुग्ने व्यक्तिलाई छानिन्छ । कुल्याराले राम्रो काम गर्यो भने धान बाली थन्क्याउने बेला हरेक घरबाट एक एक पाथी धान कुल्यारालाई दिईन्छ ।ढिकाईलामा साउनमा मात्रै पानी पुग्छ र गर्मी हुने हुँदा साउनमै रोपे पनि कात्तिकमा धान पाक्छ । तर बारू खोला भन्ने ठाउँ उँचाईमा पर्ने हुँदा जेठमै रोप्नु पर्छ । हुम्ली भाषामा ढिकाईला भनेको पुछारको ठाउँ भनेको हो । रोपाईं गर्दै जाँदा अंतिममा जसलाई पर्छ, उसको राम्रो मानिंदैन । त्यसैले सबैले हतार हतार गरेर रोपाईं सक्न खोज्छन् । त्यहि भएर देउडा गीत गाउने बेला “साउन रोप्यो ढिकाईला अ जेठ बारू खोला, अईले सालको मई जाडो को लाई पड्ने होला  भनेर गीत गाउँछन् । रोपाईं गर्न सबैलाई हतार हुने भएर “माँ मरी सुपा तोडि” भन्ने उखान गरिन्छ ।  यो भनेको रोपाईं गर्ने बेला आमा मरिन भने पनि नाङ्लोले छोपेर रोपाईं गर्नु जानुपर्छ भनेको हो । असारे गीत गाउने, हिलो छ्यापाछ्याप गर्ने, बीउको मुठाले होन्ने, दमाईहरूले बाजा बजाएर रमाईलो गर्ने हुनाले थकाईको महसुसै हुँदैन । त्यस्तो रमाईलो गरेर रोपे पछि तराईमा जस्तो नफले पनि एक बिघामा सरदर पन्ध्र बीस मुरी फल्छ ।

यस्ता खोलानालाहरु, यस्तो सामाजिक परम्परा र संस्कृति भएको ठाउँमा सुख्खाग्रस्त पाखाहरुमा सिंचाई सुबिधा पुर्याउन सकेमात्र हुम्लाको विकास सम्भव छ ।

ठेकेदारहरुलाई नेताहरुको आशिर्वाद र मिलेमतो, सबैलाई नेपालगञ्ज, सुर्खेत र काठमाण्डौंमा घर बनाउने मोह, ठेकेदारहरूको कामको मूल्याङ्कन, जाँचपास र फरफारक गर्न प्राविधिकहरू संवन्धित ठाउँमा नगईकनै कमिशन पाउने आशामा सदरमुकाममै बसेर कागजात तयार पार्ने, अरूलाई मात्र दोष दिने परम्परा,  ईमान्दारीपूर्वक काम नगर्ने परिपाटी, सुल्फा तानेर, गफ गरेर दिन बिताउने प्रवृत्ति, आयोजनाको गुणस्तर घटाएर नाफा कमाने होड नत्याग्ने हो भने फेरि पनि हुम्लामा विकास सम्भव छैन।

जिल्लाको विकासमा एउटा नेपाली उखान चलनचल्तिमा छ – “एउटा मान्छेले रोटी पकाएर खाउँ भनेछ । अर्कोले आगो छैन भनेछ । पहिलो व्यक्तिले त्यसो भए ढिंडो पकाएर खाउँ न त भनेछ ।” ढिंडो पकाएर खान पनि आगो त चाहियो नै । जुन आयोजना बनाउन पनि प्रयाप्त मात्रामा रकम, सामग्री, दक्ष प्राविधिक, उपभोक्ताहरूको चासो, प्रतिवद्दता र ईमान्दारिता चाहियो । नत्र भने कुनै पनि आयोजनाहरू सम्पन्न हुँदैनन् । कुरा सुन्दा गल्ति कमजोरी कसैबाट भएको छैन । जनता, नेता, सरकार, कर्मचारी, ठेकेदार कसैबाट पनि गल्ति कमजोरी भएको छैन । त्यसो भए गल्ति कमजोरी यिनै अविरल रूपमा बगिरहने खोलानालाहरू र सुख्खाग्रस्त पाखाहरूको हो त? तिनीहरूबाट पनि गल्ति भएको छैन भने ती सुख्खाग्रस्त पाखाहरू किन काकाकुल झैं बनिरहेका छन् त? किन जनताहरूमा खाद्य संस्थान प्रतिको निर्भरता बढ्दै छ?’ सबैले सोंच्नुपर्ने विषय छ ।