ढोरपाटन। आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् ।
नेपालमा सबैभन्दा बढी रेमिट्र्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ । युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ ।
पहिलेपहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन । अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन् ।
जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन् । यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्र्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् ।
यस गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन् । तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ । यस गाउँमा दुई सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् ।
तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा छ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो । यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
सहकारीले वार्षिक करिब रू. दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आवद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताउनुभयो । “ यहाँका धेरै मानिस विदेशमा जान्छन् । हाम्रो लागि सबैथोक गाउँ हो । गाउँ छोडेर कतै जान मन लाग्दैन”, उहाँले भन्नुभयो, “रहेक महिना खसीबोका उत्पादन हुन्छन् । बजार पनि ठिकै छ । धेरै दिदीबहिनी खुसी हुनुहुन्छ ।”
बढ्दो महँगीले महिला उद्यमीलाई असर पु¥याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो । “यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न”, उहाँले भन्नुभयो ।
वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताउनुभयो । यस सहरकारीले पनि दसैँ र तिहारका लागि छ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उहाँको भनाइ थियो ।
विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिनुभयो । सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उहाँको भनाइ थियो ।
सहकारीमार्फत वार्षिक रू दुई करोड १० लाख बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताउनुभयो । बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उहाँको भनाइ थियो ।
तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताउनुभयो । “गाउँका प्रत्येक घरका एकरदुईजना सदस्य विदेश छन् । त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ”, उहाँले भन्नुभयो,“गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको  सङ्ख्या बढी छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि पाँचरसातवटा खसीबोका बेच्ने गरेका छौँ ।”
रासस