गोदावरी। सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि बन्द हुँदा धेरै व्यवसायीले समस्या झेलिरहेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गर्ने भएको हो ।
त्रिनगर भन्सार नाकाबाट कृषि उत्पादन आयात तथा निर्यात रोकिँदा आम उपभोक्ताले महँगी झेल्नु परेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बताउनुभयो । उहाँले प्रदेश सरकारले स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने जानकारी दिनुभयो ।
मन्त्री धामीका अनुसार दुई महिनादेखि उक्त कार्यालय बन्द हुँदा कृषिजन्य पदार्थ आयात÷निर्यात पूर्ण रूपमा ठप्प भएकाले व्यापार व्यवसायमा ह्रास हुनाका साथै राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । त्रिनगर नाका सुदूरपश्चिमको मूल व्यापारीक नाका भएकाले कैलाली भन्सार कार्यालयमा क्वारेन्टिनको स्थायी कार्यालय सञ्चालनको माग गर्ने उहाँको भनाइ थियो ।
उक्त कार्यालय स्थापनाका लागि मन्त्रालयले लिखित रूपमा सङ्घीय सरकारलाई पत्राचार गरिसकेको मन्त्री धामीले जानकारी दिनुभयो । उहाँले प्रदेशभरिको आपूर्ति व्यवस्था मिलाउन त्रिनगर भन्सार नाकालाई स्थायी बनाउन पहल गरिने बताउनुभयो ।
त्रिनगर नाका पछिल्लो समय मालसामान आयातनिर्यातका लागि मुख्य नाकाका रुपमा प्रयोग भइरहेकाले सङ्घीय सरकारले यसको स्तरोन्नति गर्नुका साथै स्थायी क्वारेन्टिन कार्यालयको सञ्चालन गर्नुपर्ने कैलाली उद्योग वाािणज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले बताउनुभयो । उहाँले कार्यालय बन्द भएपछि प्रदेशको राजस्व घटिरहेको बताउँदै छिटोभन्दा छिटो क्वारेन्टिन कार्यालय सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उक्त नाकाबाट आयात रोकिँदा नेपालगञ्जबाट व्यापारीले सामान ल्याउन बाध्य भएकाले यहाँ पनि महँगी बढ्दै गएको व्यवसायीको भनाइ थियो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सङ्घीय सरकारसँग सबै खाले विषादी परीक्षण गर्नसक्ने प्रयोगशालासहितको स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न माग गरेको जनाएको छ ।
रासस