
कालिकोट । बर्षातको मौसम सुरु भएसंगै गाउँमा मानिसहरु खेतीपातिमा व्यस्त छन, यता मनपुरालालाई भने आफुले उत्पादन गरेको टमाटर बेच्न चटारो छ । उनी विहानै उठ्छिन आफ्नो करेशावारीको कामसंगै डोकोभरी टमाटर टिप्छिन अनी करिव १ घण्टा ३० मिनेटको दुरीमा पर्ने पालिका सदरमुकाम कुमालगाउँ सम्म विक्रिका लागि लैजान्छिन् । उमेरले ५२ वर्ष पुगिसकेकी हँसिली स्वभावकी मनुपुरासंग अझैपनि पुरानै जोस जाँगर छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ गोठीमा बस्ने मनपुराको घरमा ११ जनाको परिवार छ । घर निर्माण गर्ने क्रममा छातिमा चोट लागेर १ वर्ष देखि श्रीमानले भारी काम गर्न सक्दैनन् । उनी घरायसी काम संगसंगै, आफ्नो पारिवारीक पोषण र आय आर्जनका लागि तरकारी खेती गर्छिन ।
मनपुरा सहास नेपाल पाइला परियोजनाको सहजीकरणमा गठित परिवर्तनशिल कृषक समुहमा आबद्ध छिन । समुहमा हुने छलफल तथा तालिमहरुबाट उनले जलवायु परिवर्तनसंगै कृषि उत्पादनमा क्रमश नकारात्मक असर पर्दै गईरहेको र परिवर्तित हावापानी संगै खेतीपाती प्रविधिलाई पनि अनूकुल बनाएर लैजानुपर्छ भन्नेवारे बुझेकी छिन ।
उनीले समुहमा प्लाष्टिक घरमा तरकारी खेती सम्वन्धि तालिम लिईसकेपछि आफैले तरकारी खेती गर्न सुरुवात गरिन । प्लाष्टिक घरमा टमाटर उत्पादन गर्ने प्रविधि बारे उनी आफ्नो अनुभव सुनाउदै भन्छिन, “बाहिर यतिकै लगाउदा धेरैजसो फल कुहिएर खेर जान्थ्यो, प्लाष्टिक घरमा लगाउदा कुहिने समस्या हट्यो । रोगकिरा कम लाग्ने, विरुवा चाडो हुर्किने र फल पनि चाडो पाक्दो रहेछ।”
यतिबेला टमाटर खेतीको सिजन भएकाले अरुले पनि टमाटर उत्पादन गरेका छन, आफ्नो घरमा सकेजति खपत गर्छन् बाँकी बजार छैन भन्दै बेच्न लादैनन् । यसै सन्दर्भमा मनपुरा भन्छिन ”अरु डोको बोकेर हिड्न लाज मान्छन, आफ्नो परिश्रमले उत्पादन गरेको बेच्न के को लाज ? विक्री भएजति आफ्नै छिमेकमा बेच्छु, नभएको जति डोको बोकेर पालिका तिर लैजान्छु ।
अहिले मैले टमाटरबाटै दैनिक ५ सय देखि १ हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छु ।”
परियोजनाको सहयोगबाट प्राप्त गरेको १ वटा प्लाष्टिक घरबाट उनीले यहि सिजनमा मात्रै ६० के.जी भन्दा बढी टमाटर विक्री गरिसेकेकी छिन । तरकारी खेतीलाई विस्तार गर्दै बेमैसमा २ वटा प्लाष्टिक घरबाट टमाटर उत्पाद गर्ने उनको लक्ष्य छ ।
जलवायु उत्थानशिल प्रविधिहरुको अवलम्बन मार्फत कृषि क्षेत्रको विविधिकरणका लागि उचित प्रविधि अनुसरण गर्न किसानहरुलाई सचेतिकरण, क्षमता विकास संगै उत्पादनको बजार पहुँचमा समेत सवै निकायहरुको ध्यानआकर्षण हुन सके ग्रामिण स्तरका साना किसानहरुको कृषि उत्पादन र खाद्य सुरक्षामा टेवा पुग्ने देखिन्छ ।