कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम अन्र्तगत कीर्तिपुर नगरपालिका वडा नं. ६ पाण्डेछापमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन भइरहेको छ ।
जलवायु जन्य प्रकोपबाट वालीहरुको संरक्षण गर्ने उदेश्यले सञ्चालन भएको जलवायु मैत्री कृषक पाठशाला कृषि प्रविधि र सीप सिकाउदै गत वर्षको माघ २० गते देखि स्थानीय जातको भटमास बालीमा जलवायु मैत्री पाठशाला सञ्चालन भएको हो । कृषि बालीलाई रोगजन्य, प्रकोप, सुख्खा खडेरी र अन्य जलवायु जन्य प्रकोपको बेला कसरी संरक्षण गर्ने, उन्नत कृषि प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा हरेक हप्ता नियमित छलफल हुन्छ ।

जलवायु परिवर्तनको असर विश्व भरी नै परिरहेको छ । विगतको तुलनामा हाल विभिन्न जलवायु जन्य प्रकोप देखिन थालेका छन् । बेमौसमी वर्षा हुनु, लामो समय सम्म खडेरी हुनु, असिना पर्नु तथा वालीहरुमा नयाँ नयाँ रोग कीरा देखा पर्नु आदि ।

यसको असर नेपालमा पनि क्रमिक रुपमा बढी रहेको पाइन्छ । नेपालको कृषि प्रणाली मुख्यत ः वर्षामा आधारित छ । यसले जलवायु परिवर्तन र मौसम परिवर्तनबाट किसानहरुका लागि ठूलो चुनौती ल्याउछ । खडेरी, बाढी, उच्च तापक्रम, अनियमित वर्षा, रोगकीराहरु, पानीका श्रोतहरु घट्ने जस्ता परिवर्तनले नेपालको कृषि उत्पादकत्व र साना किसानको जीविकोपार्जनमा असर पारिरहेको छ । यद्यपी अधिकांश साना किसानहरु जलवायु परिवर्तनवारे सचेत छैनन् । यसको सट्टा सामान्य तया भगवानको भरोसाको रुपमा लिइन्छ र किसानहरुको वालीको उत्पादकत्वमा ह्रास आएर नोक्सान वेहोरिरहेका छन् । जसका कारण कृषि उत्पादनमा कमी आउनुको साथै समग्र कृषि प्रणालीमा नै नकारात्मक असर परिरहेको छ । यसको असर तुलनात्मक रुपमा वर्ण शंकर र उन्नत जात भन्दा स्थानीय जातका बालीहरुमा प्रतिकुलता र नकारात्मक असर सहन सक्ने क्षमता बढी हुन्छ ।

नेपालका कृषकहरुले परापुर्वदेखि खेती गर्दै आएका विविध स्थानीय बालीहरुमा यस्ता गुणहरु पाइन्छन् । फलस्वरुप यस्ता स्थानीय बाली र जातहरुको प्रयोगले जलवायुको असर सँग जुध्न मद्दत गर्दछन् । यसरी जलवायु जन्य असरहरु कम गर्नका लागि विभिन्न स्थानीय बालीहरुको उत्पादन र संरक्षण गर्नु अत्यावश्यक छ ।

यीनै कुराहरुलाई मध्य नजर गरी यो कृषि पाठशाला सञ्चालन गरी स्थानीय महिला कृषकहरुकै संलग्नतामा स्थानीय क्षेत्रमा पाइने भटमासको जातवारे कृषि उत्पादन समुहका २० जना सदस्यहरु छनौट गरी पाठशाला सञ्चालन भइरहेको छ । यस पाठशालामा सिमित क्षेत्रफलमा विभिन्न प्लटहरु विभाजन गरी कृषकले प्रयोग गरीरहेको खेती प्रविधी र जलवायुको प्रकोपसँग जुध्न सक्ने प्रविधिको सिकाइ भइरहेको छ, खेतवारीको माटो परिक्षण गर्ने, शुन्य खनजोत प्रविधीबाट, न्यूनतम खनजोत प्रविधीको प्रयोग, ट्राइकोडर्माबाट बीउको उपचार गर्ने, सिफारिस मात्रामा रासायनिक मलकोे प्रयोग गर्ने, स्थानीय जडिबुटीबाट झोल मल बनाइ बालीमा प्रयोग गर्ने, स्थानीय जटीबुटीको प्रयोग गरी रोगकिरा नियन्त्रणको प्रयास गर्ने लगायतका प्रविधी कृषक समुहका सदस्यहरुलाई सिकाइ भईरहेको छ ।
नेपालमा कमै कृषकले प्रयोग गर्ने शुन्य खनजोत प्रविधीबाट पनि खेती भटमास खेती प्रविधीको परिक्षण भइरहेको छ र हाल सम्मको अवस्था हेर्दा शुन्य खनजोत गरी लगाएको प्लटमा बाली राम्रो देखिएको छ । यसरी शुन्य खनजोत प्रविधी अपनाउँदा कृषकको उत्पादन लागत कम हुने, मिथेन ग्यास उत्पादनमा कमी आउछ ।

‘शुन्य खनजोत प्रविधीबाट खेती गर्दा प्राकृतिक श्रोत संसाधन तथा स्रोतहरुको संरक्षण हुन्छ ’ भन्नु हुन्छ, वल्र्ड भिजन इन्टरनेशनल नेपालको शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाका परियोजना संयोजक सुनिता तोलाङ्गी । उहाँ भन्नु हुन्छ, ‘परम्परागत तरिका भन्दा १५ देखी २५ % उत्पादन बढी हुने, बीउ र मल लहरैमा खसाल्न सकिने र सिंचाइको लागि कम पानी लाग्ने, कम खर्चमा लगाउन सकिने, खनजोत कम हुनाले कृषकको पैसाको बचत हुनुको साथै खुद नाफा बढी हुनुको साथै माटोको गुण नविग्रिने र लगाएको बालीमा झारपातको समस्या कम हुनु नै यसका मुख्य फाइदा हुन् ।’ आगामी दिनमा यसलाई थप क्षेत्रफलमा परिक्षण गर्ने कृषक समुहका अध्यक्ष सीता आचार्य बताउनु हुन्छ ।

जलवायु परिवर्तनको प्रभावलाई सम्वोधन गर्न, कृषकहरुलाइ जलवायु मैत्री पाठशालाले किसानको लागि अनुसन्धान र सिकाउने प्लेटफर्म प्रदान गर्दछ । यस बाट किसानहरुलाई एकिकृत कीरा र रोग व्यवस्थापनमा सुधार गर्न सहज हुन्छ । यस पाठशालाबाट स्थानीय र वैज्ञानिक ज्ञानको समिश्रण हुनुका साथै जलवायु परिवर्तन र बजार जानकारी समायोजन गरेर स्थानीय कृषि ज्ञान प्रणालीमा सुधार हुनुका साथै उत्पादकत्व र कम लागतमा खेती प्रविधीमा सुधार गर्न मद्दत गर्दछ । यसले खेती प्रविधीका विभिन्न अभ्यासहरु र कृषि योजनाम जलवायु मैत्री र प्राकृतिक श्रोतहरुको व्यवस्थापन सँग पनि जोडिएको छ ।
सो जलवायु मैत्री कृषि पाठशालाबाट कृषकहरुले जलवायु परिवर्तनले निम्त्याएका समस्याहरु सुख्खा, खडेरी, रोगकीराका साथै स्थानीय कृषकहरुलाई सुहाउदो खेती प्रविधीको सूक्ष्म प्रविधीबाट अध्ययन गर्दछन् र आफ्नो आवश्यकता अनुसारको खेती प्रविधी अवलम्वन गर्नेछन् । यो जलवायु मैत्री कृषि पाठशाला भटमास बाली तयार हुने बेला सम्म नियमित सञ्चालन हुनेछ ।


भटमास बालीमा सञ्चालन भइरहेको जलवायु मैत्री कृषि पाठशालामा निरीक्षण गर्दै सहभागीहरु

बालीमा प्रयोग गर्न झोल मल तयार गर्दै समुहका सदस्यहरु