गुल्मी। गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् ।

परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी किसानको सहभागिता थियो ।

पाठशाला शिक्षाबाट कफी किसान कफीका बोटको रेखदेख गर्नुका साथै बगैँचामा कफीमा लाग्ने रोगको पहिचान गर्नसक्ने भएका परियोजना कार्यान्वयन इकाई गुल्मीकी प्रमुख गङ्गाकुमारी पोख्रेलले बताए । “उनीहरुले भिन्नभिन्न समूह बनाएर बगैँचामा पुगेर कफीका बोटमा देखिएका समस्याको खोजी गरेका थिए । पाठशालामा उनीहरुले कफीमा लाग्ने रोग र कीराको बारेमा छलफल गर्दै सिकाइ प्रशिक्षणलाई प्रभावकारी बनाएका थिए”, उनले भने ।

प्रमुख पोख्रेलका अनुसार किसान पाठशालामा सिकेका कुरालाई स्थलगत रुपमा बगैँचामा पुगेर सिकाइ अभ्यास गररेका थिए । स्थानीयस्तरमै सञ्चालन गरिएको किसान पाठशालामा सहभागीले व्यवहारिक रुपमा कफी उत्पादनसम्बन्धी ज्ञान पाएका उनको भनाइ थियो ।

प्रमुख पोख्रेलले पाठशालाबाट किसानको दक्षता अभिवृद्धि गर्नुका अतिरिक्त आफ्नो कफी बगैँचामा देखिएका स–साना समस्यालाई आफै पहिचान गर्ने बानीको विकास भएको बताए ।

पछिल्लो समयमा जिल्लामा बाँदर, बँदेल, दुम्सी, मृगलगायत जङ्गली जनावरले किसानले खेतबारीमा लगाएका बालीनाली नष्ट गकरी हैरानी दिन थालेपछि यस क्षेत्रका किसानले वैकल्पिक रुपमा कफी खेती सुरु गरेका छन् ।
रासस