कास्की। गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि प्रदेश सरकारले पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेशको कृृषि मन्त्रालयअन्तर्गत पशुपन्छी विकास निर्देशनालय मातहतका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुले स्थानीय तहहरुसँगको सहकार्यमा पालिकाहरुमा पुगेर पशुमा खोप कार्यक्रम सञ्चालन गरेका हुन् । पशुमा खोपसँगै खोपको प्रभावकारिता मूल्याङ्कन (सेरो मनिटरिङ) पनि सुरु भएको छ । खोपको प्रभावकारिता मूल्याङ्कन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा र निर्देशनालयले पूर्ण खोप कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा पुगेर नमूना परीक्षण गरिरहेको हो ।

पशुपन्छी विकास निर्देशनालय र पशुरोग अन्वेषण प्रयोगशालाबाट खटिएका प्राविधिकहरुले खोपको प्रभावकारिता परीक्षणका लागि खोप लगाइएका पशुको रगत सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिएको निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले बताए । खोपकर्ताहरुबाट कृषकको फार्म तथा गोठहरुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयनसँगै सेरो मनिटरिङको कामसमेत अहिले सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रयोगशालाबाट एक हप्तामा नमूना परीक्षणको नतिजा प्राप्त हुने बताइन्छ ।

उनले भने, “खोप लगाएका गाईभैँसीमा खोपले काम ग¥यो गरेन भनेर रगत सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्छौं । पशुमा खोप लगाएको २१ दिनपछि नमूना लिन सुरु हुन्छ, खोपले पशुको शरीरमा विकास गरेको प्रतिरोधात्मक क्षमताबारे जानकारी हुन्छ ।” परीक्षणपछि पशुमा प्रतिरोधात्मक क्षमता विकास नभएमा पुनः खोप दिनुपर्ने हुन्छ ।

प्रदेश सरकारले पशुहरुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजना दुई वर्षअघि सुरु गरेको थियो । खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरमा हैजा र कुकुरमा रेबिज विरुद्धको खोप दिने गरिएको छ ।

पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने असरबाट बचाउन खोप कार्यक्रम प्रभावकारी बनेको भेटेरिनरी अस्पताल कास्कीका अधिकृत पुष्पराज बास्तोलाले बताए ।
रासस