गण्डकी। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनाको अनुगमन गरिएको छ ।

आयोजनाले सञ्चालन गरेका क्रियाकलापका बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि चार दिवसीय सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ) सुरु गरिएको कृषि अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए ।

आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको १४ सदस्यीय टोलीले तनहुँ, कास्की र म्याग्दीमा सञ्चालित केही उपआयोजनाको स्थलगत अनुगमनसँगै सरोकारावालाबीच छलफल एवं अन्तक्र्रिया गरिने उनले जानकारी दिए। आयोजनाबाट देशभर पाँच सय ५९ उपआयोजनामा अनुदान सहयोग गरिएको र हालसम्म दुई सय १३ सम्पन्न भइसकेको उनले बताए ।

कार्यक्रमअन्तर्गत बुधबार कुमालटारी कृषि तथा पशु फर्म बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट तनहुँ र दाजुभाइ गाई फर्म व्यास नगरपालिका–१० डिहिकुवा तनहुँको स्थलगत अवलोकनसँगै पशु विकास शाखा शुक्लागण्डकीका पदाधिकारीसँग छलफल एवं अन्तरक्रिया गरिएको थियो ।

अनुगमन टोलीलाई कुमालटारी कृषि तथा पशु फर्मका सञ्चालकद्वय चेतप्रसाद तिवारी र विष्णुप्रसाद अमगाईँ तथा दाजुभाई गाई फर्मका सञ्चालक रमेश तिमल्सिनाले भइरहेका कामबारे जानकारी गराएको थियो। पशु विकास शाखा शुक्लागण्डकीका प्रमुख मुक्ति नेपालीले आयोजनाअन्तर्गत शुक्लागण्डकीमा निर्माण भइरहेको पूर्वाधारसहितको भेटेरिनरी अस्पतालको भवनका सम्बन्धमा जानकारी गराए ।

आयोजनाको अनुगमन मूल्याङ्कन अधिकृत ईश्वरी खतिवडाका अनुसार विभिन्न उपआयोजनाको स्थलगत अनुगमन गरी टोली यही वैशाख ३० गते काठमाडौँ फर्कनेछ । रासस