धुलिखेल। नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । सबै क्षेत्रलाई योजनाबद्ध विकास गर्ने उद्देश्यअनुरुप कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि रणनीति तयार गर्न लागिएको उहाँले बताउनुभयो ।

रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायत विषय समावेश हुनेछन् । योजना निर्माणका लागि कार्यतालिकासहित जिम्मेवारी बाँडफाँट गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं. ३ का अध्यक्ष रमेश तिवारीले बताउनुभयो ।

कृषि योजना तर्जुमाका लागि ‘फोकल पर्सन’को व्यवस्था गरी पालिकाभित्र सरोकारवाला निकाय र नागरिकसँग छलफल गरिएको छ । छलफल, अध्ययन तथा दस्तावेजका आधारमा छिट्टै तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।

योजनाका लागि पालिकाले कृषि शाखाको समन्वयमा स्थानीय जनप्रतिनिधि, कृषि शाखा प्रमुख, विभिन्न कृषि सहकारी तथा समूहका सरोकारवालाको सहभागितामा अभिमुखीकरण कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा नगर प्रमुख लामा, पूर्वकृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारीलगायतले योजना कार्यान्वयनमा जोड दिनुभएको थियो ।
रासस