दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थाल्नुभएको हो । मौरीपालनबाट उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । “विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्दा आत्मसन्तुष्टिसँगै आम्दानी पनि मिल्छ”, उहाँले भन्नुभयो, “मलाई विदेश जाने सोच कहिल्यै आएन, स्वदेशमै केही उद्यम गरौँ भन्ने पहिल्यैदेखि लागिरहन्थ्यो ।”

वाग्लेले गत वर्ष मह बिक्री गरेर रू. छ लाख आम्दानी गर्नुभयो । यस वर्ष मङ्सिरमा मात्रै रू. तीन लाखको मह बिक्री भएको उहाँले बताउनुभयो । फूलको रसबाट बनेको मह प्रतिकिलो रू. दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रू. दुई हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मह बिक्रीका लागि बजारको समस्या छैन । “मह किन्न घरमै आउँछन्”, वाग्लेले भन्नुभयो ।

वाग्लेले हाल ८० घारमा मौरीपालन गर्दै आउनुभएको छ । जेठ र मङ्सिर मह बिक्री हुने समय हो । मौरीका लागि वनजङ्गलमा पर्याप्त फूल रहेकाले व्यक्तिगत फूल लगाउन नपरेको उहाँ बताउनुहुन्छ । “मौरीलाई चरनको समस्या छैन”, वाग्लेले भन्नुभयो । उहाँले महका साथै मौरीसहितको घार पनि बिक्री गर्दै आउनुभएको छ । केही दिनमा एक सय ५० मौरीसहितको घार बिक्री गर्ने तयारीमा वाग्ले हुनुहुन्छ । “प्रतिघार रू. १० हजारमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो । कृषि ज्ञानकेन्द्रले मौरीसहितको घार खरिद गर्न लागेको हो ।

कृषि ज्ञानकेन्द्रले पाँच सय मौरीसहितको घार माग गरेको वाग्लेको भनाइ छ । फागुनदेखि वैशाखसम्म माउ मौरी बिक्री गरिन्छ । वाग्लेले मौरीपालनका साथै बाख्रापालन पनि गर्नुभएको छ । उहाँको बाख्राफार्ममा हाल २४ बाख्रा छन् ।
रासस