जाजरकोट। कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ ।

आयतित वस्तुुलाई भन्दा आफैँ उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुु उत्पादन गरी बाहिर निर्यात गर्ने उद्देश्यका साथ विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायतका वस्तुु बाहिर बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले मौरीपालन पकेट क्षेत्रको रुपमा १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा ३, अलैँचीका लागि वडा नम्बर ३, लसुन पकेट क्षेत्रमा रुपमा ९, १० र ११ लाई लिइएको छ । त्यस्तै धान पकेट क्षेत्रका लागि ७ र ८ नम्बर, मकैका लागि वडा नम्बर ५, आलु पकेटका रुपमा ३ र ६ नम्बरलाई लिइएको छ । कागती पकेटको लागि वडा नम्बर ५, फलफूलका लागि वडा १३, तरकारी पकेट क्षेत्रका लागि २, ४, ५, ७ र ८ नम्बरलाई लिइएको छ ।

क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत छ हेक्टरमा हिउँदेबाली आलु, १० हेक्टर क्षेत्रफलमा नगरपालिकाको ७ र ८ मा उन्नत गहुँ बीउ उत्पादन, एक सय ९० हेक्टरमा उन्नत तोरी बीउ उत्पादन गरिएको छ । त्यस्तै छ हेक्टरमा प्याजको उन्तत बीउ, १० हेक्टरमा लसुन लगाएको छ । त्यस्तै नलगाड नगरपालिका वडा नम्बर ७ मा ६ हेक्टरमा गहुँको मूल बीउ उत्पादन कार्य चलिरहेको छ ।

त्यस्तै वडा नम्बर ४ मा ४० हेक्टरमा तोरीको मूल बीउ उत्पादन भइरहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताउनुभयो । प्याजको मूल बियाँ, रायोको मूल बीउ, मुलाको बीउसमेत वडा नम्बर ५ को रानीखेतमा उत्पादन भइरहेको छ । स्थानीय सरकार सञ्चालन भएदेखि कृषिमा लगानी बढाएसँगै यहाँ उत्पादन दरसमेत बढेको अधिकृत गिरीले बताउनुभयो ।

नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म पुगेर बिक्री हुने गरेको छ । सिँचाइयोग्य भूभागमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्धसमेत गराएको गिरीले बताउनुभयो । जिल्लाका सात पालिकामध्ये लामो समयसम्म उपसचिवले नेतृत्व गरेको पालिका नलगाड रहेको छ । भेरी करिडोरसँग अधिकांश भूभाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्री बाहिर लिनसमेत सजिलो भएको छ । त्यस्तै नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको सडकसमेत यही बीचमा पर्ने गर्दछ ।

पालिकाको सबै वडामा यातायात सेवासमेत पुगेको छ । अब नलगाड आयत मात्र होइन, निर्यात गर्ने पालिकाको रुपमा समेतसक्षम भएको छ । अघिल्लो वर्षमात्र यहाँको प्याज, लसुन भारी मात्रामा बाहिर लिएर बिक्री भएको थियो । त्यस्तै सङ्घीय सरकार, प्रदेश सरकारको साझेदारीमा समेत कृषि क्षेत्रमा लगानी बढाएको र सिँचाइको योजना थप गरिएको छ । नलगाड नगरपालिकाको कूल ३८ हजार सात सय ४४ हेक्टरमध्ये तीन हजार चार सय ४० खेतीयोग्य जमिन रहेकोमा दुई हजार सात सय ५६ हेक्टरमा खेती गरिएको छ । तेइस वटा महिला कृषक समूह सक्रिया भएर काममा लागेको नगरपालिकाले जनाएको छ । त्यस्तै दुई वटा पुरुष कृषक समूहले काम गरिरहेका छन् । एक सय ६३ वटा मिश्रित कृषक समूह रहेका अधिकृत गिरीले जानकारी दिनुभयो ।

आव २०७६/७७ मा १३ टन, २०७७/७८ मा १४ टन र २०७८/७९ मा तीन दशमलव २२ टन मह उत्पादन भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आव २०७६/७७ मा ३५ टन, २०७७/७८ मा ३५ टन र २०७८/७९ मा २५ टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ८० टन, २०७७/७८ मा १०० टन तथा २०७८/७९ मा एक सय ५० टन लसुन उत्पादन भएको नगरपालिकाले जानकारी दिएको छ । रासस