तेह्रथुम। सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका –५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेपछि यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ भएको छ ।

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकि छिन् । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ ।

हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो । छोराछोरी पढाउन निकै मुस्किल हुन्थो । बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ । उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो । घर चलाउनै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए ।

उनले भने, “तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।” उनले अगाडि थपे, “सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।”

छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र घरमा छन् । व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री हुनेगरेको छ । परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी बसुकला आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् ।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकि छिन् । खासगरी अकबरेको अचार उत्पादन उनले बढी गरेको सुनाइन् । अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिँदैआएका छन् ।

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दैआएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छौं उनले भनिन् ।

अकबरेमात्र नभई उनको उद्योगमा काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुनेगरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन । रासस