सिमकोट। हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।

केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण रम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताए । उनले भने, “सदरमुकाम सिमकोट नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ ।” बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका धारा र स्वतिकलगायत खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन बन्दै गएका हुन् ।”

हुम्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदैछ । पाँच छ वर्ष पहिले काठले बनाइएको दुनेडीमा विशेषगरी तोरी, ढटेलो, चुली, खाँबु, ओखरलगायत पेलिन्थ्योे तर अहिले यिनको प्रयोग देखिन छोडेको छ । यी फलबाट दुनेडीमा महिलाले दुई हातले पिसेर तेल निकाल्थे । यसैगरी बाठले बनेको तेल राख्ने ठेकीसमेत लोप हुँदै गएको पाइन्छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि स्थानीयवासीले दुनेडीलाई बेवास्ता गर्दै आएको सर्केगाड गाउँपालिका–७ निवासी भक्तबहादुर ऐडीले बताए ।

उनले भने, “भनेका बेलामा जहाँ पनि तेल पाइन्छ, दिनभरिको मेहनत लगाएर कसले दुनेडी प्रयोग गर्छन् रु अब तेलका लागि दुनेडी लोप हँुदै गएकामा यहाँका बूढापाका चिन्तित छन् । हुम्लालगायत पहाडी जिल्लामा विशेष अहिले तोरी खेतीमा पनि स्थानीय किसानको चासो घट्न थालेको छ ।

कुनै समय आधाभन्दा बढी समय तेलहन बालीमै बिताउने यहाँका बासिन्दा पछिल्लो समय दुनेडी विस्थापित भएपछि र तेल सहजै पाउन थालेपछि यो खेती छोडेको चङ्खेली गाउँपालिकाकी अनुरुपा बुढाले बताए ।

केही वर्षअघिसम्म यस्ता दुनेडीको प्रयोग प्रत्येकको घरमा हुनेगरेकामा पछिल्लो समय हराउँदै गएको छ । यहाँका केही पुराना बुढापाखाले मात्रै दुडेनी बनाने गरे पनि युवापुस्तामा भने यसलाई बचाइ राख्न रुचि नभएको पाइन्छ । जति मूल्य परे पनि बजारमा पाउने प्याकेटका तेल खरिद गर्न तयार हुने गरेकाले उनीहरुमा यो पेशालाई जोगाइ राख्न जागरुकता नभएको पाइन्छ । अहिले काठले बनाइएको दुनेडी कमैको घरमा मात्रै देखिने गरेकाले युवा पुस्तालाई दुनेडी बनाउनसमेत आउँदैन ।रासस