“कृषि बाट यो देशको समृद्धिमा जुटौ”
“समृद्घ कृषिका लागि हे युवा अब त उठौ”
“श्रम र सीप खर्च गरी आफ्नो देश बनाउने हो भन्ने सोचाई राखौ,
हामी युवा मिलि, अब कृषिमा उद्यमशिल बनि देश विकासमा लागौं ||”

सामान्य भाषामा १६ वर्ष भन्दा माथिको उमेर जसको शरीरमा तागत र दिमागमा राम्रो गर्छु भन्ने सोच हुन्छ उसैलाई युवा भनिन्छ । युवा सम्रग जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्ति मा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । राष्ट्रिय युवा निति २०७२, अनुसार १६ देखि ४० बर्ष उमेर समुहका व्यक्तिलाई युवा भनिन्छ । देशमा गरिबि र आर्थिक पछौटेपनाका कारणले गर्दा क्षमतावान युवाहरु युरोप र अमेरीका पलायन भएका छन् भने ज्ञान र सीप नभएका अशिक्षित युवाहरु खाडी देशमा गई आफ्नो श्रम अत्यन्तै सस्तो मुल्यमा खर्च गरिरहेका छन् । देशमा उद्योग धन्दाको विकास गरी युवालाई उद्यमी बनाउने गरी ठोस कार्यक्रम बन्न नसक्नु, बनेका कार्यक्रम प्रभावकारी नहुनु जस्ता थुप्रै समस्याका कारण आज युवाहरुको सहभागीता कृषि क्षेत्रमा साह्रै न्युन छ । नविनतम व्यवसायको तयारी गर्ने, व्यवसायको स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने र सञ्चालनको लागि तिव्र इच्छा शक्ती र सृजनशीलताको क्षमता हुनु नै उद्यमशिलता हो । युवा उद्यमशिलता विकासले आफ्नो पेशा, व्यवसाय प्रति आकर्षित गराई जोखीम वहन गर्ने र सृजनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आवद्घ गर्ने मद्दत गर्दछ, त्यसैले स्थानिय स्तर दैखि नै कृषिमा उत्पादन र उत्पादकत्व वृद्घि तथा रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशिलता दिन कृषिमा युवा उद्यमशिलता विकास महत्वपुर्ण छ ।
हाम्रो देश एक कृषि प्रधान देश हो, कृषि क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ भन्दा बढी योगदान गर्दछ भने करिब ६० प्रतिशत भन्दा बढी मानिस जिविकोपार्जनको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा निर्भर छन् तर पनि विगत एक दशक भन्दा बढि देखि कृषिमा परनिर्भरता बढ्दैछ, कृषि जन्य वस्तुको निर्यात भन्दा आयात बढि छ, कृषि क्षेत्रमा युवा उद्यमशिलता सहभागिताको अवस्था साह्रै न्युन छ । युवाहरु उद्यमशिल बनी कृषि क्षेत्रमा लाग्ने हो भने यस क्षेत्रलाई व्यापारीकरणको माध्यमबाट प्रतिस्पर्धि वनाउन सकिन्छ । कृषि क्षेत्रमा युवा उद्यमशिलताको सहभागिताले देशको गरिबि, बढ्दो जनसंख्या दर, न्युन उत्पादन, व्यापार घाटा जस्ता सम्स्याहरु बिच तालमेल मिलाउदै आउदो दिनमा खाद्य सुरक्षा सुनिश्चित गर्न र कृषिमा विकास गर्न मद्दत गर्दछ । कृषि क्षेत्रलाई आधुनिकिकरण गरि जिविकोपार्जनको रुपमा मात्र होइन कि अव व्यवसायीकरण गरी नाफा कमाउने व्यवसायमा परिणत गर्न जरुरी देखिन्छ, त्यसैले कृषि क्षेत्रमा उद्यमशिल युवाहरुको संग्लनता आवश्यक छ । कृषि क्षेत्रमा उद्यमशिल युवाहरुको संग्लनता भएमा कृषिको विकासका साथसाथै युवाहरुको बेरोजगारीको समस्या पनि समाधान गर्न सकिन्छ । कृषि उद्यम अन्तर्गत मौसमी अन्न र तरकारी फलाउने कार्यमात्र नभई रुख विरुवा, जडीबुटी, घाँस, माछा, रेशम किरा, माहुरी सहित पशुपालन र फलफुल खेति, दलहन, तेलहन बाली, उखु खेति सँगै यससँग सम्बन्धित साना उद्योग र व्यवसाय सञ्चालन लगायतका कृषि उद्यममा युवालाई सहभागीता गराउनु पर्छ ।
कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिन जरुरी छ । जसका लागि युवालाई ज्ञान, सिप, पुँजी र प्रविधि हस्तान्तरण गर्नुपर्छ । कृषि क्षेत्रमा उद्यमी बन्ने युवालाई राजस्व छुट दिने, कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने, कृषि बिमा तथा अनुदानको व्यवस्था गर्ने, व्यावसायिक कर्जा उपलब्ध गराउने, युवा मैत्री उद्यमशिलताको वातावरण सिर्जना गर्ने, कृषिमा अनुसन्धान गर्न चाहने युवालाई अध्ययन तथा अनुसन्धान रकम उपलब्ध गराउने जस्ता कार्य गर्दा युवा उद्यमशिलताको विकास हुनेछ । जब देशमा युवा उद्यमशिलताको विकास हुन्छ, तब मात्र कृषिको विकास, आर्थिक विकास र राष्ट्रको विकास हुनेछ । अर्थशास्त्री डा. मोहम्मद युनुस भन्नु हुन्छ “प्रत्येक मानिस जन्मजात उद्यमी हुन्छन्कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन्, कतिपय त आफुभित्रको त्यो क्षमता छ भन्ने पनि बुञ्न पाउँदैनन्” त्यसैले अबका दिनमा युवाहरु उद्यमशिल बनि कृषिमा लाग्नु पर्ने देखिन्छ । जब सम्म युवा उद्यमशिलताको संग्लनता कृषि क्षेत्रमा हुदैन तब सम्म समृद्ध कृषिको विकास वारे सोच्नु एउटा भम्र मात्र हुनेछ ।