गलेश्वर। म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि चलेको दाइँ लगाउने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको छ । दाइँ लगाउने गोरु पाल्ने किसानको संख्या पनि घट्दो छ । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरको प्रयोग बढेको छ ।

यसले धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही दशक अघिसम्म जिल्लाको अधिकांश स्थानमा धानपराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाँटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो ।

अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको बेनी नगरपालिका–२ का वेदप्रसाद उपाध्यायले बताए । ‘दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो,’ उपाध्यायले भने, ‘पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।’ पराल माड्न ९मेह० मियो बनाउने र त्यसैमा आठ(दश वटा गोरु घुमाउने चलन थियो ।

पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरुलाई कुल्चाएर पराल माड्न दाइँ गरिन्थ्यो । दाइँ गर्दा पराल छिट्कन, फाल्न र भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरुसमेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा हट्दै गएको किसानको भनाइ छ ।

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन भए पनि अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए । ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले कृषि काम गरिन्थ्यो भने अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने ।

छिटो र सजिलोका लागि जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटि हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको संख्या बढेको छ ।

जिल्लाको ज्यामरुककोट, रत्नेचौर, अर्मन, पुलाचौरलगायत ठाउँका किसानले ट्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र संघीय सरकारले समेत अनुदान दिँदै आएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै जान सक्ने बताइएको छ । रासस