बलेवा। गोठमा उन्नत जातका १० ओटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिन सके माउ गाईले दिनमा दुई पटकको दरले ४ देखि ६ लिटर दूध दिन्छन् । सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ ।

दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका विकास पौडेललाई हिजोआज गाईलाई दानापानी दिनै मन लाग्दैन । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन । बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ ।

विकासले सरदरमा १ लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पाउँछन् । त्यही दूध बजारमा १२० रुपैयाँमा बिक्री हुन्छ । दुई वर्ष पहिले दूधको मूल्य ५० रुपैयाँ प्रतिलिटर पर्दा पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँगिएको दाना चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या कुश्मीशेराका विकासलगायत अन्य किसानको पनि हो ।

यसको असर दुई वर्ष पहिले दैनिक ४ सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ । अहिले सहकारीमा दैनिक २५० लिटर मात्रै दूध मात्रै संकलन हुन्छ । ‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना र चोकर समयमा पुर्‍याउनै कठिन हुने’, पौडेलले भने, ‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’

वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायत युवाले पछिल्लो समय व्यावसायिक रूपमा पालिएका गाईको संख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् । ‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यति नै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध ५ लिटर आउँथ्यो’, पौडेलले भने, ‘दुई वर्ष पहिले १ हजार ६०० पर्ने दानाको बोरा अहिले २ हजार २०० भएको छ ।’

महँगीको मार थेग्न नसकेका कारण आफूहरूले उत्पादन घटाउनुपरेको उनीहरूको भनाइ छ । कसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ ।

‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका(१२ का सचिव रुद्रनाथ शर्माले भने, ‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।

बागलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ । टाढाटाढा ढुवानी गरेर दूध पुर्‍याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमाभन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । पछिल्लो समय बढ्दो बसाइँसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ । रासस