ललितपुर।  विगत १५ वर्षदेखि हुँदै आएको ‘गोदावरी फूल’को प्रतियोगितात्मक प्रदर्शनी’ कार्तिक ३ गतेदेखि ६ सम्म हुने भएको छ । ललितपुरस्थित जावलाखेल खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ हुने प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जन्कारी दिए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको अयोजना र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेला ३७ हजार भन्दा बढिले अवलोकन गर्नुका साथै ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । नेपाल फूलमा अहिलेको समयमा ९० देखि ९१ प्रतिशत आत्मनिर्भर भैसकेको तर बीउको स्रोतको कमि र तिहार ,भ्यालेन्टाइन्स डे जस्ता समयहरुमा अत्याधिक माग बढ्ने कारण ९ देखि १० प्रतिशत आयात भने अझै कायम रहेको फ्यान का अध्यक्ष मीन बहादुर तमाङ्ले जानकारी दिए । साथै अहिले पुष्प क्षेत्रको समग्र लगानी साढे ६ अर्ब रहेको समेत उन्ले जानकारि दिए ।

नेपालमा व्यावसायिक फूलखेती सुरु भएको २७ वर्ष पुगिसकेकोे छ भने फूल व्यवसाय अहिले सम्म आइपुग्दा लगभग सबै जिल्लामा विस्तार भैसकेकोे छ । तिहारका लागि २० लाख मालाको माग हुने कुरालाइ मध्य नजर गर्दै पहिलेको साल भन्दा यस साल उत्पादन समेत १० देखि १५ प्रतिशत बढेको छ । यससंगै समग्र पुस्प व्यवसायमा गतबर्ष ११.९२ करोडको कारोवार भएको थियो भने यसबर्ष १३.५० करोड को कारोवार गर्ने समेत अनुमान गरिएको छ ।