म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन गरिएको छ । विदेशबाट फर्केका तीन जना युवाले गरेको माछापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारमा दुई वर्ष काम गरेर गाउँ फर्किएका हरिबहादुर रोकाले संयुक्त लगानीमा रेन्बो ट्राउट जातको माछा पालेका हुन् । टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन् ।

‘माछाका अण्डा ल्याएर व्यवसाय शुरू गरेका थियौं, अहिले निकै राम्रो भएपछि संरचना थप्दै छौं,’ हरिबहादुरले भने । सफा र चिसो पानी भएकाले उत्पादन राम्रो भएको उनले बताए ।

अहिले पोखरीमा दुई सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । साधारण तालीम लिएर शुरू गरेको माछापालनलाई थप व्यवस्थित बनाउन युट्युब र विभिन्न जानकारीमूलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का युवा पूर्णबहादुरले बताए ।

‘माछापालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ,’ उनले भने । हावापानी उपयुक्त भएको र उत्पादित माछा विक्रीमा समस्या नभएपछि दुई वर्षभित्र १० ओटा पोखरी थपेर खोलाको छेउमै बसेर माछाको विशेष परिकार खुवाउने रेष्टुराँ सञ्चालनको योजनासमेत बनाइएको व्यवसायी पूर्णबहादुरले बताए । उनीहरूले माछापालन, रेष्टुराँसहित अन्य कृषि उत्पादनको सोचसमेत बनाएका छन् ।

माछापालनमा हालसम्म रू. सात लाख लगानी भएको छ भने थप रू. २० लाख लगानी थप्ने योजना रहेको पूर्णबहादुरले बताए । स्थानीय गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत रेन्बो ट्राउट माछाको उच्च माग रहेको उनको भनाइ छ । उत्पादित माछा प्रतिकेजी रू. एक हजार दुई सयमा पोखरीबाटै विक्री हुने गरेको छ । यस क्षेत्रमा पहिलोपटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछाको पालन सफल भएको छ । यसले अन्य युवालाई समेत यो व्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका युवा संगम पुन मगरले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यका अनुसार रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । रासस/फाइल फोटो