भरतपुर। चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गरेकाछन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गरेका हुन् ।

उनले माछा पाल्न पोखरी नै निर्माण गर्नुपर्छ भन्ने धारणा तथा सोचलाई परिवर्तन गरिदिएकाछन् । २३ वर्षीय थापाले गत वर्ष पनि परीक्षणका रुपमा धान खेतमा माछापालन गरेका थिए । माछासँगै धानको पनि उत्पादन राम्रो हुने देखेपछि उनले यस वर्ष पनि आफ्नो खेतमा आठ सयवटा माछाको भुरा हालेकाछन् । “साउनमा रामपुरबाट ल्याएर धान खेतमा माछा हालेको हुँ”, उनले भने, “गाउँमा अरूले पनि यसरी माछापालन गर्न थालेका छन् ।”

सुरुमै २० किलो पिना र पाँच किलो ढुटो ल्याएको भन्दै उनले दैनिक आधा किलो पिना र एक पाउ ढुटो मिसाएर खेतमा हालिदिने गरेको बताए । उनले खेतमा कमन कार्भ, रहु र ग्रास कार्भ जातको माछा हालेकाछन् । कात्तिकसम्म माछा खानका लागि तयार हुने उनी बताउँछन् । धान खेती गरिएको ठाउँमा माछापालन पनि गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उनले बताए । “सिजनल रुपमा धान खेतीको समयमा मात्रै माछा हाल्ने गरेको छु । खेतमा रासायनिक मल हालिँदैन । पिनालगायतका कारण खेतमा मलिलो हुने गरेको छ । धान पनि अर्गानिक उत्पादन हुन्छ”, उनले भने ।

धानमा उनले कुलोको पानी लगाउने गरेकाछन् । खेतमा धान रोपेको एक हप्तापछि थापाले २० देखि २५ ग्रामका भुरा माछा हालेका हुन् । उनले प्रतिगोटा दुई रुपैयाँमा आठ सय भुरा माछा किनेका थिए । भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी तीन हजार ५० रुपैयाँमा बिक्री हुने थापाले बताए । नगरमा पानी सुक्ने भएका कारण तीन महिनामै बेच्नु परेको उनले सुनाए । धानको उत्पादन बढेपछि दोहोरो आम्दानी हुँदा उनी दङ्ग छन् । साढे तीन कट्ठा जग्गामा धान लगाउँदा पानी जमेर सोचेको जस्तो धान नफलेको र धानको बिरुवामा रोग किरा लागेर सताएको उनले स्मरण गरे ।

धानमा हरेक वर्षजसो समस्याले सताउन थालेपछि धान खेतमै एकपटक माछा पालन गरेर विचार गर्ने सोच पलाएको उनले बताए । सुरुमा तीन सय वटा माछाको भुरा हाल्दा राम्रो उत्पादन भएपछि हरेक वर्ष धान लगाएको ठाउँमा माछापालन गर्ने सोच पलाएको उनले बताए ।

“धान खेतीमा माछापालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारका रुपमा खान्छन् र धानमा लाग्ने विभिन्न रोगहरु पनि देखा पर्दैनन”, उनले भने । एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफूलाई धेरै सन्तुष्ट मिलेको उनको भनाइ छ । उनी हाल सप्तगण्डकी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता विषयमा दोस्रो वर्षमा अध्ययनरत छन् । योसँगै उनी निर्माण सामग्री व्यवसायमा पनि संलग्न छन् । देशमा केही गर्न सकिँदैन र कुनै अवसर पनि छैन भन्दै विदेश पलायन भइरहेका युवाहरुका लागि थापाको यो काम एक उदाहरणीय बनेको छ । रासस