जनकपुरधाम। बजार क्षेत्रमा छाडारूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (कान्जी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं. १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको हो ।

उपमहानगरपालिकाले कुल रु. एक करोड लागतमा निर्माण गर्न लागेको गौशालामा पुश चौपाया राख्ने घर, चौपायाका लागि चाहिने पराल तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घर बनाइने नगर उपप्रमुख किशोरी साहले जानकारी दिनुभयो ।

गौशालाको निर्माणले नगर क्षेत्रमा जथाभावीरूपमा छाड्ने चौपाया नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने जनाइएको छ । गौशालाको निर्माणसँगै प्राचीन राजदेवी मन्दिरको पनि सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले काम अघि बढाउने योजना रहेको उपप्रमुख साहको भनाइ छ ।

गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोबर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल बिक्री गर्ने लक्ष्य रहेको उपमहानगरपालिकाले जनाएको छ । जथाभावी छाड्ने पशु चौपायाका कारण बजार क्षेत्रको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगर क्षेत्रमा फोहरमैला बढ्दै गएको छ ।

गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिने जनाएको छ । यस्ता चौपाया वस्तुको धनीबाट रु। पाँच हजार जरिवाना गर्ने कानुनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास गरिएको छ । रासस/फाइल फोटो