म्याग्दी। कृषिउपजको बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण एवं उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ संकलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक संगठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको सुनिश्चित हुन नसक्नु तथा सरोकारवालाको बेवास्ताका कारण प्रयोगमा आउन सकेका छैनन् ।

तत्कालीन कृषि विकास कार्यालय र लद्यु उद्यम विकास कार्यालयले बनाएका आठओटा कृषिउपज संकलन, बीउ प्रशोधन र भण्डारण केन्द्र र एउटा हाटबजारको भवन उपयोगमा आउन नसकेका हुन् । तीन पूर्वाधार निर्माणमा रू। दुई करोडभन्दा बढी लगानी भएको थियो । निर्माणलगत्तै केही समय प्रयोग भएका कृषि पूर्वाधारको सञ्चालनका र संरक्षणमा सरोकारवालाको ध्यान पुगेको छैन ।

केही ठाउँमा स्थानीय तहले व्यापारीलाई भाडामा लगाएका छन् । केही भवनमा सहकारीको कार्यालय सञ्चालन भएको छ । झाडीले घेरिएका अधिकांश भवन निर्माण सामग्री तथा घाँस राख्ने ठाउँ र छाडा गाईवस्तुको गोठमा परिणत भएका छन् । खबराका कृषक सोवित शर्माले पर्याप्त उत्पादन र कृषक संगठित नहुँदा कृषिउपजको बजारीकरणका लागि निर्माण भएको पूर्वाधार सदुपयोग हुन नसकेको बताए ।

‘कृषकले उत्पादन गरेको उपज घरायसी उपभोगमै सीमित भएको अवस्थामा हाटबजार लगाउनु, कृषिउपज संकलन केन्द्र र चिस्यानगृह सञ्चालन गर्नु टाढाको विषय भयो,’ उनले भने, ‘उत्पादनविनाका संरचना र पूर्वाधारको प्रयोगमा आउन नसकेका हुन् ।’ बेनीको दरबाङ बसपार्क सञ्चालन भएको बहुउद्देश्यीय मैदानमा विभिन्न चरणमा रू. ३८ लाख २६ हजार खर्चेर हाटबजार सञ्चालनका लागि बनाइएको टहरामा पछिल्लो डेढ वर्षयता नगरपालिकाले रेष्टुराँ र किराना पसललाई भाडामा लगाएको छ ।

तत्कालीन लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको खिवाङमा बनाएको कृषिउपज संकलन केन्द्रको भवनमा निर्माण सामग्री भण्डारण गरिएको छ । कृषि विकास कार्यालयले अन्नपूर्णको बिरौटा र महभीरमा बनाएको भवन प्रयोगविहीन छ ।

भुरुङ तातोपानीको कृषिउपज बजार संकलन केन्द्रको भवनमा रेष्टुराँ सञ्चालन भएको छ भने ठूलोबगरको खसीबोका संकलन केन्द्र पनि प्रयोग भएको छैन । मङ्गला गाउँपालिकाको माटेबगरमा हाटबजारका दुईओटा टहरा र कृषिउपज संकलन केन्द्रको दुईओटा भवन छन् । हाटबजारको भवनमा निर्माण सामग्री थुपारिएको छ । कृषिउपज संकलन केन्द्रको एउटा भवनलाई गाउँपालिकाले भण्डारणमा प्रयोग गरेको छ भने अर्को प्रयोग भएको छैन ।

बेनी र बाबियाचौरमा केही समय हाटबजार सञ्चालन भए पनि त्यहाँ कृषकले ल्याएको तरकारी, फलफूल र पशुपन्छी विक्री नहुँदा त्यसको जिम्मा कसले लिने भन्नेमा समस्या भएपछि निरन्तरता पाएन । बीउ प्रशोधन र भण्डारणका लागि धौलागिरि गाउँपालिकाको ताकममा अन्नपूर्ण कृषि सहकारीले बनाएको भवनमा कार्यालय सञ्चालन भएको छ । रासस