
बैतडी। जिल्लामा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब १३ लाख रूपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९मा ३ लाख ५६ हजार ५ सय ५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु १३ लाख राजश्व संकलन गरेको हो ।
गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत २ लाख ११ हजार ७ सय ९० गरी १२ लाख ७० हजार ९ सय ८६ रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै २ लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ ।
जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरुसमेत निकासी हुने गरेको छ ।फाइल फोटो