जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

उक्त नदीको असला माछा लोकप्रिय रहेकाले भुरा संरक्षणमा पालिका लागिपरेको उनको भनाइ छ । अध्यक्ष धितालले भने, ‘नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र मछर झुल प्रयोग गरेर माछा मार्न नपाइने नियम बनाएका छौँ ।’ हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ ।

गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको बताएका छन् । उनका अनुसार नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्नेलगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ ।

माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताए । कसैैले नदीमा गएर माछाका भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरी चौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोध समेत गरेको छ । रासस/फाइल फोटो