बागलुङ। तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाइले लगानी बढाएर व्यवसाय विस्तार गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी खेतीतर्फ उनीहरु आकर्षित भएका हुन् । लामो समयको वैदेशिक रोजागरी पछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका भविलाल र टेकबहादुर विकले तरकारी खेती थालेपछि राम्रो कमाइ भएकाले लगानी वृद्धि गर्दै लगिएको बताएको हो ।

बागलुङ नगरपालिका–४ गौरीधामका ती दाजुभाइले पछिल्लो पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको हो । भाडाको जग्गामा तरकारी खेती गर्दै आइएका यसबाट राम्रो आम्दानी भएपछि थप क्षेत्र विस्तार गर्दै १४ रोपनी जग्गामा उनीहरुले तरकारी खेती गरेको हो । दुई भाइले पाँच वर्षअघि एक/एकवटा टनेलबाट सुरु गरेको तरकारी खेतीले अहिले व्यावसायिक रुप लिएको छ । विक दाजुभाइले स्थापना गरेको विकास कृषि तथा पशुपन्छी फर्ममा अहिले टमाटर, सिमी र अकबरे खुर्सानी छन् ।

“खुल्ला जग्गामा खेती गर्दा खासै राम्रो भएन विस्तारै टनेल बढाउँदै गयौँ, अहिले दुई भाइका १४ वटा प्लाष्टिक टनेल छन्,” टेकबहादुरले भने । “टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभेँडा र टिप्नका लागि तयारी गोलभेँडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ, एक टनेलबाट सुरु भएको व्यावसायिक तरकारी खेती अहिले १४ वटा टनेलमा पुगेको छ ।”

उनका अनुसार अहिले टमाटरको भाउ राम्रो भएकाले आम्दानी बढेको छ भने हालै टेकबहादुरको फर्ममा कृषि ज्ञान केन्द्रको रु एक लाख ५० हजार र कृषकको रु एक लाख पाँच हजार गरी दुईवटा टनेलसमेत थप गरिएको छ । पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाइँ सकेर नेपाल फर्केका उनी र मलेसियामा ११ वर्ष रोजगारी गर्नुभएका भविलालले वार्षिक रु ५० हजार भाडा तिर्नेगरी १४ रोपनी जग्गा लिएर व्यावसायिक तरकारी खेती थाल्नुभएको हो ।

वोइलर कुखुरा, टनेलमा टमाटर, लोकल कुखुरा र हाँससहित अन्य तरकारी बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आएको उनीहरु बताउछन् । हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्था गर्न रु. १५ लाख लगानी भइसकेको भविलाल बताउछन् । टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि अपनाउँदै आएका दाजुभाइ प्रविधिको विकाससँगै आम्दानी दोब्बर हुँदै आएको छ भन्छन् ।

उनीहरुले परीक्षणका लागि एउटा टनेलभित्र अकबरे खुर्सानीसमेत लगाएका छन् । अकबरे खुर्सानीको बजार मूल्य उच्च भएकाले खुर्सानी खेतीसमेत सुरु गरिएको हो । विदेशको कमाइले जाडेको जग्गामा दुई भाइले अलग–अलग घर बनाएर भाडाको जग्गामा तरकारी खेती गर्दै आएका छन् । उनीहरुले आफ्नो पुख्र्यौली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा समेत आलु खेती गर्दै आएका छन् । धम्जा आलुको पकेट क्षेत्र हो । रासस