बाँके। बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो ।

बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख चल्ला उत्पादन हुँदै आएको छ । जिल्लामा करिब रु १५ करोड पोल्ट्री व्यवसायमा लगानी रहेको छ । भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी संघका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताए ।

भारतीय कुखुराका कारण नेपाली व्यवसायी मारमा परेको उल्लेख गर्दै उनले अवैध रुपले कुखुराको आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी दिए । ‘भएका कुखुराको बजार राम्रो छैन, त्यसैमा पनि अवैधरुपले भारतीय कुखुरा आयातले हामी व्यवसायीलाई ठूलो चेपुवा पारेको छ’ञ उनले भने ।

नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान गरेको र यसबाट आठ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले बाँकेका नाकाबाट अवैध रुपमा भित्रिने कुखुराको मासु काठमाडौँसम्म पुगेको र यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको बताए ।

‘हामी मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर छौँ तर नाकाबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौँ’ञ उनले भने, ‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको सङ्क्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नु पर्छ।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कुखुराको अवैध आयात रोक्न सक्दो प्रयास गरिने बताए । रासस/फाइल फोटो