कैलाली। गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको हो । धानबाली भित्रयाउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरू भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

‘भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ,’ उनले भने, ‘क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कठ्ठाभन्दा कम जमीनमा क्षति भएकालाई प्रतिकठ्ठा रू. ३१५, ११ देखि ६० कठ्ठासम्ममा क्षति भएकालाई रू. १२५, र ६० कठ्ठाभन्दा माथि क्षति भएका किसानलाई रू. ७५ प्रतिकठ्ठा रकम वितरण थालिएको छ ।’ एक किसानलाई रू. ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले बताएको छ । रासस