मोरङ। राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश–१ कृषि मन्त्रालयद्वारा संयुक्तरुपमा शुक्रबार यहाँ आयोजित प्रादेशिक कृषि विकास रणनीति दस्ताबेज तथा कृषि सम्बन्धित नीतिगत विषयक प्रदेशीस्तरीय अन्तक्र्रिया कार्यक्रममा सहभागीले सो विचार राखेका हुन् ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण र औद्योगिकीकरणमार्फत कृषि उत्पादनमा प्रतिस्पर्धा प्रणालीको विकास गर्नुका साथै तुलनात्मक लाभ भएका बाली वस्तुको निर्यात प्रवद्र्धन गर्ने, कृषि क्षेत्रलाई संरक्षण गर्दै कृषकका उत्पादनमा बचतको सुनिश्चितता प्रत्याभूत हुने गरी उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आधारभूत खाद्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रणनीतिको मस्यौदा तयार गर्न सुझाव सङ्कलन गर्नु अन्तरक्रियाको उद्देश्य रहेको छ ।

प्रदेश–१ कृषिमन्त्री झलकबहादुर मगरले कृषि बजारीकरण गर्न, उत्पादन वृद्धि, लागत घटाउन तयार गरिन लागिएको रणनीति कोसेढुङ्गा सावित हुने बताए ।

मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले खाद्यान्न आयात समस्या समाधानमा कृषि विकास रणनीति सोचेअनुसार निर्माण हुनेभन्दै चैते धान लगाउने क्षेत्रफल वृद्धि गरेमा धानमा आत्मनिर्भर हुने बताए ।

प्रदेश योजना आयोगका सदस्य डा. ज्ञानेन्द्रबहादुर कार्की, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव डा. राजेद्रप्रसाद मिश्रले कृषिलाई जोगाउन र राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न आगामी भदौसम्म कृषि विकास रणनीति मन्त्रिपरिषद्बाट पास गर्न आग्रह गरे । रासस